म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा उत्खनन भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी स्काभेटर प्रयोग गरेर मनपरि ढुङ्गा उत्खनन भएको हो ।


ADVERTISEMENT


पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतीदान–जयमाता जेभीले पहाडबाट आफूखूशी मनपरि शैलीमा ढुङ्ग उत्खनन गरेको स्थानीयवासीले बताएका छन् । पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको बिरौटा टोल सुधार समितिका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताए। सो ठाउँको ढुङ्गा स्थानीयका घर, सार्वजनिक भवन निर्माणमा पनि प्रयोग हुने गरेको छ ।


ADVERTISEMENT

# # #


“सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमतिविपरीत पहाड खनेर रित्ताउन खोजिएको छ”, उनले भने,, “वातावरणीय असरको अध्ययन र राजस्व नतिरी उत्खनन गरिरहेको ठेकेदारले क्रसर राख्न खोजेकोमा हाम्रो आपत्ति छ ।” विसं २०७६ भदौमा वडाध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले दूरबिनडाँडामा सडकले ओगट्ने आठ मिटर र चार मिटर भित्रबाट ढुङ्गा निकाल्न दिने सहमति भएको तर ठेकेदारले सहमतिविपरीत जङ्गल मासिने, पहिरो चल्ने गरी धेरैभित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको स्थानीय बहुतबहादुर बरुवालले बताए। जथाभावी र अव्यवस्थित उत्खनन रोक्नका लागि टोल सुधार समितिले वडा र गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए ।

ठेकेदार र स्थानीयवासीसँग छलफल गरेर गत वर्षकै निर्णयअनुसार सडकका लागि आवश्यक ढुङ्गा र गिट्टी निकाल्न दिने गरी सहमति कायम गरेको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए। “जति बढी निकाल्यो, निकाल्यो, त्यसलाई छोडिदियौँ, सहमतिविपरीत अब निकाल्न पाउँदैन”, उनले भने, “थप मेटिरियल बाटोमुनिको ढाडबाट पनि निकाल्न दिने गरी सहमति भएको छ ।” ठेकेदार कम्पनीका प्रतिनिधि गौतमप्रसाद भुसालले डिजाइन, इस्टिमेटअनुसार स्थानीयवासीसँग सहमति गरेर ढुङ्गा निकालेको बताए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितअन्तर्गत पोखरेबगरदेखि घार, खिवाङ, शिख हुँदै चित्रे जोड्ने १८।५ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने सम्झौता भएको आयोजनाको हालसम्म ३८ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । कोरोनाको जोखिम, लकडाउन र पहिरोको बाहनामा गत चैतदेखि काम रोकेको ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन गर्न नसक्दा सडक अलपत्र भएको स्थानीयको भनाइ छ ।

हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याबियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३।७५ किलोमिटर कालोपत्रेसमेत गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो । कोरोना भित्रने कारण देखाएर जनप्रतिनिधिले बाहिरबाट मजदूर ल्याउन नदिएको, आयोजनाले पहिरोका कारण सिर्जित अतिरिक्त कामको मूल्याङ्कन र भुक्तानीमा ढिलाइ गरेकाले काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधि भुसालको भनाइ छ ।

उहाँले दूरबिनडाँडाबाट कच्चा पदार्थ उत्खनन गरी अस्थायी क्रसर उद्योग चलाउन लागेको प्रतिक्रिया दिए। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण ढकालले ठेकेदारलाई काममा फर्काउन र निर्माण सामग्रीको विषयमा देखिएको विवाद समाधानका लागि सहजीकरण गरेको बताए। “क्रोनिक अवस्थामा पुगेको आयोजनालाई निरन्तरता दिन ठेकेदारलाई काममा फर्किने वातावरण बनाएका छौँ”, उनले भने, “ठेक्काको म्याद थप प्रक्रियामा लगेका छौन् ।” रासस