भोजपुर – प्रदेश सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माण ४० प्रतिशत सम्पन्न भएको छ । वर्षा तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले गति लिएको हो ।


ADVERTISEMENT


सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिर महिनाबाट रङ्गशालाको निर्माण शुरु भएको हो । विसं २०८० सम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौता अघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी मार्सेली जेभीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘‘लकडाउनमा चार महिना हामीले काम गर्न पाएनौँ, त्यसपछि हामीले तीव्र गतिमा सञ्चालन गरिरहेका छौँ । सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आवको असार महिनासम्म निर्माण पूरा गछौँ ।’’ हालसम्म कार्यालय भवन, फाउण्डेशन लगाउनेलगायत स्टक्चरको काम ६० प्रतिशत बढी सकिएको छ भने प्याराफिड, बनाउने, रिटेनिङवाल लगाउने लगायतको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । तेइस रोपनी क्षेत्रमा निर्माण भइरहेको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्याराफिड निर्माण हुने कार्यालयले जनाएको छ ।

शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख मिलन आचर्यले भने, ‘‘निर्माण स्थलमा भइरहेको काम हेर्दा तीव्र गतिमा गुणस्तरीय ढङ्गबाट भइरहेको छ ।” अनुगमनको क्रममा ४० प्रतिशत बढी काम सकिएको पाइएको उनले बताए। कोभिडको कारण निर्माण कम्पनीलाई हालसम्म कुनै पनि भुक्तानी दिन नसकेको जानकारी दिए । ‘‘उहाँले काम निरन्तर गरिरहनुभएको छ, कोभिडको कारण हामीले हालसम्म कुनै पनि भुक्तानी दिएका छैनौँ, तर पनि उहाँले काम निरन्तर गरिरहनुभएको छ, यो खुशीको कुरा हो, हामी पनि समय अगाडि नै सक्नको लागि उहाँलाई बजेट दिनेमा सकारात्मक छौँ’’, प्रमुख आचर्यले भने ।

कामलाई गुणस्तरीय बनाउनका लागि इञ्जिनीयरले नियमित रुपमा अनुगमन तथा जाँचसमेत गर्दै आएका छन् । निर्माणमा प्रयोग भएका सामग्री मापदण्डअनुसार रहेको शहरी विकास तथा भवन निर्माण कार्यालयका इञ्जिनीयर रजनिसकुमार झाले बताए । उनले भने, ‘‘हामीले कार्यालयको तर्फबाट नियमित अनुगमन गरिरहेका छौँ । निर्माण कार्य गुणस्तरीय तबरबाट तोकिएको मापदण्डअनुसार नै भएको छ, कामको गुणस्तरमा कुनै प्रश्न गर्ने ठाउँ छैन ।’’