म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक १८ दिनपछि बिहीबार साँझबाट सञ्चालन भएको छ ।


ADVERTISEMENT


म्याग्दीको अन्नपूर्ण–३ दानाको रुप्से, काभ्रे तथा मुस्ताङको सिमाना घोप्टेभिरमा खसेको पहिरोले सडक बगाएपछि भदौ २९ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा आवतजावत बन्द भएको थियो ।


ADVERTISEMENT

# # #


बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण कम्पनीका डोजर परिचालन गरेर पहिरो पन्छाउने, नयाँ बाटो खोल्ने र डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिए ।

भिरमा चट्टान फुटाउनका लागि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थसमेत प्रयोग भएको थियो । सडक अवरुद्ध हुँदा मुस्ताङमा आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र स्याउ बजार पठाउन रोकिएको थियो ।

सडक खुलेपछि सवारी साधन गन्तव्यतर्फ लागेका आयोजनाका स्थानीय सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए। ठाउँठाउँमा गाडी परिवर्तन गर्नुपर्ने समस्या हटेको उनले बताए । यसअघि असार २६ गतेदेखि अवरुद्ध सडक भदौ ९ गते ४५ दिनपछि सञ्चालन भएको थियो । मुस्ताङवासीको जनजीवनलाई सहज बनाउन, विकास निर्माणका कामलाई गति दिन र करोडौँ मूल्यका स्याउ समयमै बजार पुर्याउनका लागि बेनी–जोमसोम सडकमा नियमित सवारी सञ्चालन गराउन पहल गरिएको सांसद प्रेमप्रसाद तुलाचनले बताए। आयोजना, निर्माण कम्पनी, स्थानीय प्रशासन, सुरक्षा निकाय, पालिकासँग समन्वय गरेर सडक खुलाउन पहल गरिएको उनले बताए ।

बेनीमा योगहल निर्माण

बेनी नगरपालिका–८ कालीपुलमा योग भवन निर्माण भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा तला थपेर योग अभ्यासका लागि एक कोठे सभाहल भएको भवन निर्माण भएको हो ।

सो योगहल थेरापियुटिक योग (रोगसम्बद्ध योग)का लागि प्रयोग गरिने केन्द्रका प्रमुख चिकित्सक मधुकरजी ढकालले बताए । ढाड, घुँडाको हड्डी खिइएकाजस्ता समस्या भएका बिरामीलाई योगको माध्यमबाट उपचार सेवा शुरु गर्न लागिएको उनले बताए ।

सो हलमा एक पटकमा बीस जनाभन्दा बढीले योग गर्न सक्ने क्षमताको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा ठेक्का प्रक्रियाबाट योगहल निर्माण भएको प्रमुख ढकालले बताए ।

रु १९ लाख ३० हजार ९५९ लागत अनुमान गरिएको योगहल बनाउन भगवती मालिका कन्स्ट्रक्सनले रु १५ लाख ९५ हजार ८५५ मा ठेक्का सम्झौता गरेको थियो । कोरोनाको जोखिम र लकडाउनको असहज अवस्थाका बाबजुद स्थानीय मजदूर परिचालन र निर्माण सामग्री जुटाएर छोटो समयमा योगहल बनाएको निर्माण व्यवसायी गोपालप्रसाद भट्टचनले बताए । रासस