काठमाडौँ – सरकारले गरेको लामो बन्दाबन्दीका कारण नयाँ शैक्षिक सत्र सुरु हुन पाएको छैन । कोरोना नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन गर्ने निर्णयअघि कतिपय विद्यालयले परिक्षा गरिसकेका थिए भने कतिपय विद्यालयले त्यसपछि स्वमुल्यांकन गरी नतिजा प्रकाशित गरे । शैक्षिक सत्रका लागि आधा वर्ष सकिसकेपनि सरकारले अहिलेसम्म विद्यालय खोल्ने कुनै तयारी गरेको छैन । यद्यपि, स्थानियस्तरमा केही विद्यालयहरु स्वतःस्फूर्त रुपमा खुल्न थालेका छन् ।


ADVERTISEMENT


दोलखामा केही निजी तथा सामुदायिक विद्यालयले भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन मात्र होइन परीक्षा पनि सुरु गरिसकेका छन् । जिल्लाका निजी तथा सामुदायिक विद्यालयले १ देखि ९ कक्षासम्मका परिक्षा सञ्चालन गरेका हुन् । जिल्लाका ९ वटा स्थानिय तहमा विद्यालय सञ्चालन भएकोमा बिहीवार प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले शिक्षा समितिको वैठक डाकेर विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।
कास्कीको पोखरा महानगरपालिकामा होस्टलमा राखेर विद्यार्थी पढाउन थालिएको छ भने तनहुँमा पनि शिक्षकहरु टोल–टोलमै पुगेर पठनपाठन शुरु गरेका छन् । यस्तै सिराहामा पनि केही विद्यालयहरु सञ्चालनमा आएका छन् । सिरहाको मिर्चैया नगरपालिकाले हालै नगरका सबै विद्यालय खोल्ने निर्णय गरेको छ भने कैलालीको लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिकाले पनि विद्यालय सञ्चालन गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको छ । यसैगरी बझाङ, बाजुरा, रोल्पा, भोजपुर लगायतका केही स्थानिय तहले खोल्ने गृहकार्य गरिरहेको बताएका छन् । भोजपुरको भोजपुर नगरपालिकाले त विद्यार्थी भर्ना खुला गरेर अशोज १५ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । यसैगरी स्याङ्जामा पनि केही विद्यालय खुल्न थालेपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विज्ञप्ति निकाल्दै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


यता सरकारले भने तत्काल विद्यालय खोल्न नहुने बताउँदै भच्र्युल पठनपाठनलाई मात्र जोड दिन बताएको छ । हालै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जोखिम कम नभएका कारण तत्काल विद्यालय खोल्न नहुने अभिव्यक्ति दिएका छन् ।