काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यका लागि मनोनित भएका छन् ।  प्रतिनिधिसभाको चुनाव हारेका गौतमलाई सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् ।


ADVERTISEMENT


तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको दुई वर्षेकार्यकाल सकिएसँगै राष्ट्रपतिबाट मनोनित हुने १ जना सांसद गत फागुनदेखि राष्ट्रिय सभामा खाली रहेको थियो ।


ADVERTISEMENT

# # #


उक्त रिक्त स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै दोहोर्‍याउन खोजेका थिए । त्यही अनुसार ६ महिना सांसद नहुँदा पनि खतिवडा मन्त्री बन्न पाएका थिए । तर नेकपाको सचिवालय बैठकले वामदेवलाई पठाउने निर्णय गरेको थियो । नेकपाको निर्णय अनुसार सरकारले वामदेवलाई सिफारिस गरेको हो ।

राष्ट्रिपतिबाट मनोनयन भएसँगै वामदेवले अब राष्ट्रियसभा सदस्यको शपथ लिनेछन् । त्यसपछि चुनाव हारे पनि संसद प्रवेश गर्नेछन् । गौतम २०७४ को निर्वाचनमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका थिए ।

कार्यकाल सकिएर अर्थमन्त्रीबाट राजीनामा दिएका खतिवडा भने मन्त्रीसरहको सुविधा पाउनेगरी प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।