काठमाडौँ – बिहीबारदेखि लामो दूरिका सवारी चलाउने सरकारले निर्णय गरेपनि कस्तो मापदण्ड अपनाउने भन्ने स्पष्ट नहुँदा यातायात व्यवसायीहरुमा अन्योलता सिर्जना भएको छ ।


ADVERTISEMENT


सवारी सञ्चालनका लागि सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डसहितको कार्यविधि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार नगर्दा व्यवसायीहरु अलमलमा परेका हुन् ।  सरकारले ५० प्रतिशत मात्रै यात्रु राखेर सवारी सञ्चालन गर्न निर्देशन दिइरहँदा यातायात व्यवसायीले चालक र सहचालकको सुरक्षाको प्रश्न उठाएका छन् ।


ADVERTISEMENT

# # #


सरकारको स्पष्ट कार्यविधि नहुँदा सवारी सञ्चालनका लागि तलसम्म सर्कुलर गर्न अप्ठयारो भइरहेको सुरक्षाका मापदण्डसहितको स्पष्ट खाका बनाउनु पर्ने व्यवसायीले माग गरेका छन् । नेपाल  यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले आवश्यक कार्यविधि बनाउन ढिलाइ गरेकाले यातायात सञ्चालनका लागि अन्योल भएको बताए ।

‘सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड के हो ? त्यो पनि हामीले पाउनु पर्यो ।’ उनले हिमालय पोष्टसँग भने, ‘यात्रुलाई बीचमा खाना कहाँ खुवाउने त्यो पनि आउनु पर्यो । समय छैन । व्यवसायीहरुलाई यी कुराहरु कसरी सर्कुलर गर्ने ?’

यता यातायात व्यवस्था विभागले भने सरकारले तोकेका मापदण्ड पालना गरेरै सवारी चलाउन र अन्य आवश्यक मापदण्ड चाँडै बनाउने जनाएको छ । विभागका महानिर्देशक गोगन बहादुर हमालले सञ्चालनको कार्यविधि तयार भइरहेको र एक–दुई दिनभित्रै उपलब्ध गराउने जानकारी दिए ।

‘मन्त्रालयले पनि सवारी सञ्चालन गर्दा के गर्ने, के नगर्ने भन्ने कुराहरु मन्त्रिपरिषद्को बैठकमार्फत जारी गरिसकेको छ ।’ उनले भने, ‘यसलाई सर्कुलर गर्ने कुरामा हामी आज वा भोलिसम्म तयार पारेर व्यवसायीहरुलाई पठाउँछौँ । त्यतिन्जेलसम्म अहिलेसम्म जारी गरिएका कुराहरु पालना गरेर सवारी सञ्चालन गर्नुपर्छ ।’

यातायात व्यवसायी र मजदुरहरुले आजै यातायात मन्त्री वसन्त नेम्वाङसँग भेट गर्दै आवश्यक कार्यविधि तयार पारेर व्यवसायीलाई उपलब्ध गराउन माग गरेका थिए । उनीहरुले यातायात सञ्चालनका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामोदूरिका सार्वजजिनक सवारी ५० प्रतिशत यात्रु राख्न पाउने गरी सञ्चालन गर्न पाइने निर्णय गरेको थियो ।   व्यवसायीहरुले तोकिएको भाडादरको अधिकतम ५० प्रतिशत भाडा बढाएर लिनसक्ने सरकारले जनाएको छ ।

त्यसका लागि भौतिक दूरि कायम हुनेगरी एक पंक्तिको सिटमा एक जनामात्रै राख्न पाइने, यात्रु चढ्ने बेला सवारी साधनमा सेनिटाइजर राख्नुपर्ने, सवारी साधनलाई दैनिक संक्रमणरहित बनाउनु पर्ने, चालक र सह-चालकले मास्क, भाइजर र पन्जाहरु अनिवार्य लगाउनु पर्ने सरकारले शर्त राखेको छ ।