काठमाडौँ – गुणस्तरहीन फलामे छड उत्पादन र विक्री वितरण गर्ने शंकर ग्रुपको मुख्य उत्पादन जगदम्बा स्टिल्स कारवाहीमा परेको छ । परीक्षणका क्रममा ३ सय टन उत्पादन गुणस्तरहीन भएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई विक्री वितरणमा रोक लगाएको हो ।


ADVERTISEMENT


विभागकाअनुसार बारामा रहेको सो कम्पनीको टीएमटी बार १६ एमएमको छडको संकलित नमूनामा कार्बन र सल्फर (केमीकल) को मात्रा बढी भेटिएको थियो । त्यसपछि विभागले कम्पनीले अनुमति मागेको १६ एमएमको छड उत्पादनको इजाजत समेत स्थगन गरी उत्पादनमा रोक लगाएको विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले बताए ।


ADVERTISEMENT

# # #


सो कम्पनीको फलामे छड प्रयोग गरेका उपभोक्ता कृष्ण भट्टराईले साउन २९ गते विभागमा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै निवेदन दर्ता गराएका थिए । त्यसपछि विभागले अनुगमन गरेकोमा कम्पनीले गुणस्तरहीन उत्पादन गरेको पाइएको हो ।

यसअघि विभागले कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण दिन भनेकोमा कम्पनीको चित्तबुझ्दा स्पष्टिकरण नआएपछि कम्पनीलाई कारवाही गरिएको पुडाशैनलीले बताए ।

शंकर ग्रुप यसअघि ज्वरो नाप्ने थर्मल गनको कालोबजारी प्रकरणमा समेत देखिएको थियो । कोरोना संक्रमणका वेला ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्दै गरेको अवस्थामा कम्पनीका सञ्चालक सुलभ अग्रवाललाई प्रहरीले गत चैत २५ मा रंगेहात पक्राउ गरेको थियो । उनले ३ हजारसम्म पर्ने थर्मल गनलाई १५ हजारसम्ममा विक्री गरेको पाइएको थियो । उनी वैशाखमा २५ लाख धरौटी बुझाएर छुटेका थिए ।