डोटी – जिल्लामा पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्न थालेको छ । सुरक्षित गर्भपतन सेवालाई नेपाल सरकारले २०५९ सालमा कानूनी मान्यता दिएसँगै अहिले जिल्लामा सुरक्षित रुपमा गर्भपतन सेवा लिने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।


ADVERTISEMENT


जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टका अनुसार आर्थिक वर्ष २०७६-७७ मा निःशुल्क सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या एक हजार १२७ जना रहेको छ । चालु आवको साउन महिनामा मात्र जिल्लाभरिका स्वास्थ्य संस्थाबाट कुल १७२ जना महिलाले निःशुल्क रुपमा सुरक्षित गर्भपतन सेवा लिएका छन् ।


ADVERTISEMENT

# # #


पछिल्लो समयमा मेडिकल तथा औषधि पसलहरुमा बिक्री हुने गर्भपतन गराउने औषधिको प्रयोग गर्नेहरु पनि धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । डोटीमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम सञ्चालन गर्दै आएको संस्था सामुदायिक विकास मञ्च डोटीकी कार्यक्रम अधिकृत दीपा सिंहले गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पको रुपमा हेर्न नहुने बताए । उनले भने, “दम्पतीको पहिलोे प्राथमिकता परिवार नियोजनको साधनमा नै हुनुपर्छ, सकेसम्म महिलाले सुरक्षित गर्भपतन सेवा लिनै परे सुरक्षित र विश्वासका साथ सेवा लिनसक्ने वातावरण हुनुपर्छ, गर्भपतन सेवा अस्थायी साधनका रुपमा लिनु हुँदैन ।”

कोभिड–१९ को सङ्क्रमणको महामारीको त्रासका कारण कामका लागि भारत गएका धेरैजसो स्थानीय अहिले घर फर्किएका छन् । घर फर्किएका स्थानीयवासीले आफ्ना श्रीमतीसँग शारीरिक सम्पर्क राख्दा अस्थायी साधन प्रयोग नगर्ने गरेका कारण यहाँका महिलाले अनिच्छित रुपमा रहेको गर्भलाई पछि गर्भपतन गर्न थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्भपतन सेवाले महिलाको स्वास्थ्यमा दीर्घकालीन असर गर्ने भएपनि बाध्यता तथा विभिन्न समस्याका कारण पनि गर्भपतन गर्न बाध्य हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयमा मात्रै नभएर यहाँको आदर्श गाउँपालिकामा रहेको मौवानगरदह स्वास्थ्य चौकीमा पनि सुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्या निकै बढेको पाइएको छ । सो स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी यशोदा ओझाका अनुसार यस आर्थिक वर्ष २०७७-७८ को साउनदेखि भदौ २३ सम्म ५३ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सुरक्षित गर्भपतन सेवाको लागि सो स्वास्थ्य चौकी सूचीकृत भएसँगै गर्भपतन सेवा लिन आउनेको सङ्ख्या बढेको हो ।