काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्ने नाममा कहिले लकडाउन त कहिले निषेधाज्ञा जारी गर्दै आएको सरकारले जनजीवनलाई विस्तारै खुकुलो बनाउनु पर्छ भन्ने महसुस गरेको छ ।


ADVERTISEMENT


भदौ २४ गते (बुधबार)सम्म जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको संयुक्त बैठकले गरेको निर्णयले त्यो संकेत गरेको हो । काठमाडौँका सीडीओ जनक राज दाहालका अनुसार आर्थिक गतिविधिलाई चलायमान बनाउँदै जनजीवन सहज बनाउने तर्फ सरकारको ध्यान गएको हो ।


ADVERTISEMENT

# # #


‘अर्थतन्त्रलाई चलायमान बनाउन सहजीकरण गरेका छौँ’, सीडीओ दाहालले हिमालय पोष्टसँगको कुराकानीमा भने, ‘दैनिक जीवनशैलीलाई सरल बनाउन यो निर्णय गरेका हौँ ।’ उनले निषेधाज्ञा पूर्ण रुपमा नहटे पनि अधिकांश क्षेत्रहरु खुला गरेकाले लामो समयदेखि प्रभावित जनजीवन अब सहज हुँदै जाने बताए ।

कोरोना संक्रमणको अवस्था हेरेर अहिले बन्द रहेका अन्य क्षेत्रहरु पनि खुला गर्न सकिने उनले संकेत गरेका छन् । ‘अहिलेलाई सवारी साधन, व्यापार व्यवसाय र अन्य आवश्यक सेवाहरु खोलेका छौँ ।’ सीडीओ दाहालले भने, ‘बाँकी अवस्था हेरेर कसरी खोल्दै जाने भन्ने निर्णय गर्छौँ, एकै पटक त सबै खोल्नु भएन नि ? ’

प्रशासनले खोल्न अनुमति दिएका क्षेत्रहरुमा तोकिएको स्वास्थ्य मापदण्डहरु अनिवार्य रुपमा पालना गर्नुपर्ने उनले बताएका छन् । कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञा प्रभावकारी नभएको र अर्थतन्त्र चौपट बन्दै गएको भन्दै सरकारविरुद्धका आवाज बढ्दै गएका छन् ।

बन्दको मार खेपिरहेका विभिन्न क्षेत्रका व्यवसायीहरुले निषेधाज्ञा नहटाए उल्लंघन गरेर सेवा सुचारु गर्ने चेतावनी दिइरहेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले बुधबारमात्रै असोज १ गतेदेखि सबैकिसिमका सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा गरिसकेको छ ।

यस्तै नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले २५ गतेदेखि निषेधाज्ञा नमान्ने र व्यवसाय सुरु गर्ने बताएको थियो । बुधबार मात्रै कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले निषेधाज्ञा कोरोना भाइरस नियन्त्रणको प्रभावकारी उपाय हुन नसकेको भन्दै व्यवसाय सञ्चालनका लागि सहजीकरण गर्न आग्रह गरेको थियो । यस्तै मजदुर संगठनहरुले पनि बन्दाबन्दी हटाउँदै काम गर्ने वातावरण बनाउन सरकारलाई दबाब दिँदै आएका छन् ।

यस्तै पर्यटन तथा होटेल व्यवसाय, यातायात तथा हवाई सेवा, उद्योग व्यवसाय, चलचित्र क्षेत्र लगायत बन्द रहेका सबै क्षेत्रहरु लकडाउन र निषेधाज्ञाले ध्वस्त भएको भन्दै पूर्ण रुपमा सञ्चालन गर्न पाउनुपर्ने दबाब दिँदै आएका छन् । अब पनि बन्दाबन्दी अगाडि बढाइए सबै क्षेत्रबाट सरकारको निर्णयको उल्लंघन गर्ने उनीहरुले चेतावनी दिइरहेका छन् ।