– जागृत रायमाझी, अभियन्ता 

संसारलाई नै ठप्प बनाएको कोरोनालाई ‘षड्यन्त्र’ भनिरहनु भएको छ । यस्को तथ्य के छ तपाईहरुसंग ?


ADVERTISEMENT


हामी विगत केही वर्षदेखि सीमित स्वास्थ्य प्रणालीको बारेमा अलि पृथक ढंगले खोज र अध्ययन गरिरहेका थियौँ । मानव स्वास्थ्यको बारेमा विभिन्न खोप, भाइरस, आयुर्वेद, एलोपेथिक उपचार विधि, प्राकृतिक चिकित्सालगायतका विषय हाम्रो अध्ययनको क्षेत्र थियो । हामीसँग उपलब्ध स्रोत र साधनको उपयोगबाट गर्न सकिने नयाँ उपचारको अध्ययन पनि हामीले गरिरहेका थियौँ । त्यही सन्दर्भमा हेर्दैै जाँदा स्वास्थ्य प्रणाली भनेको एलोपेथिक मात्र हो भन्ने भ्रम निर्माण गरेको पाईयो ।


ADVERTISEMENT

# # #


भूमण्डलिकृत पूँजीवादको अर्थ राजनीतिले आफ्नो शिक्षा नीतिका लागि यूनेस्को, स्वास्थ्यका लागि डब्लूएचओ, विज्ञानलाई प्रयोग गर्न नासा र आर्थिक गतिविधिका लागि वर्ल्ड बैंकलाई प्रयोग गर्छ भन्ने हामीले बुझ्यौँ । यो भूमण्डलिकृत पूँजीवादको अर्थ राजनीति वा दासनीति मोडल हो । पूँजीवादले आफ्नो स्वार्थको निम्ति संसारका हरेक कुरालाई किन्न खोज्छ । यसर्थ स्वास्थ्य, शिक्षा, जीवन, व्यवस्था उनीहरुका निम्ति व्यापार भइसकेका छन् ।

यस व्यापारमार्फत पूँजीवादले शिक्षा, स्वास्थ्य, राजनीति, विज्ञान सबै कुराको प्रयोग गर्ने औजारका रुपमा हेर्छ । यही क्रममा पूँजीवाद स्वास्थ्यलाई व्यापार र नाफाको मोडलमा सरकार र स्वास्थ्य मन्त्रालय प्रयोग भएको पाईएको छ ।

शुरुमा संसार नै कोरोना महामारी हो कि भन्ने त्रासमा बाँचेकोमा अहिले कोरोना कहरको ८ महीनालाई केलाउँदा नाफाको निम्ति पूँजीवाद यतिसम्म निर्दयी बन्न सक्छ भन्ने कुरा संसारले थाहा पाएको छ ।

हरेक विषयलाई व्यापार र नाफाका रुपमा स्थापित गर्नु गलत हो नै । मानिसको अनुभव र संघर्षबाट आविस्कार गरेका स्वास्थ्यका थुप्रै उपचार विधिहरु छन् ।

परम्परागत, यूनानी, प्राकृतिक, आर्युवेद, घरेलू लगायतका संसारभरीका सबै उपचार विधिलाई बाइपास गर्दै पूँजीवादले ‘स्वास्थ्य भनेकै एलोपेथिक हो’ भन्ने भ्रम निर्माण गर्यो र यसलाई आफ्नो व्यापारको विषय बनायो । कोरोना त्यसैको प्रयोग हो ।

त्यसकारण यो लडाईं भनेको सीमित भूमण्डलिकृत पूँजीवादले स्वास्थ्यलाई बनाइरहेको नाफा र व्यापार विरुद्धको लडाईं हो । दोस्रो कुरा एलोपेथिक मेडिकल विज्ञानलाई विज्ञानबाट झिकेर पूँजीवादले व्यापार र नाफाको दास बनायो, यो लडाईं पूँजीवाद र विज्ञानबीचको लडाईं पनि हो । तेस्रो कुरा कोरोना आफैमा हाम्रो शरीरमा देखिने सामान्य फ्लूहरु जस्तै सामान्य फ्लू थियो । पूँजीवादले यसलाई व्यापार बनायो । यसमा सबै स्पष्ट हुन जरुरी छ ।

भनेपछि कोरोना महामारी होइन ?

जसको कुनै भ्याक्सिन छैन, औषधि छैन, उपचार छैन, जसको मृत्युदर एकदमै कम छ त्यो कसरी महामारी हुनसक्छ ? विश्वमा २ करोड ७२ लाख संक्रमित भएकोमा झण्डै २ करोड मान्छे बिना उपचार निको भएर घर फर्किसकेका छन् । यसको मतलब हाम्रो शरीरको भाइरसलाई नै त्यो भाइरसले जित्न सक्दैन, जसलाई मार्नका लागि औषधिको जरुरत समेत देखिएन त्यसलाई देखाएर संसार नै आक्रान्त पार्ने काम भएको छ ।

संसारभर बन्दाबन्दी गर्न दबाब दिइएको छ, जबरजस्ती आइसोलेशनमा राख्न दबाब दिइएको छ, करोडौँ मानिसहरु डिप्रेशनको शिकार भएका छन्, अन्य रोगका बिरामीले पनि उपचार नपाएर मर्नुपर्ने अवस्था सिर्जना भएको छ । सामान्य संक्रमणका कारण यत्रो त्रासदी किन उत्पन्न गरियो ? उत्तर यसैमा छ ।

कोरोनाको शुरु षड्यन्त्र थियो भने अहिले यो अपराध हो । पूँजीवाद षड्यन्त्रबाट अपराधसम्म पुगिसकेको छ ।

एकातिर मृत्यु देखाएर भयबित बनाईएको छ, अर्कातिर तपाईहरु यस्लाई ‘पूँजिबादी ब्यापार’ भन्नुहुन्छ । आखिर सर्वसाधारणले पत्याउने चाहीँ कसरी ?

आजको वर्ग संघर्षको मूल्यांकन नै यही हो । जसरी भूमण्डलिकृत पूँजीवादले संसारलाई नाफा र व्यापारको नीतिका रुपमा प्रयोग गरिरहेको छ त्यसैको उदाहरण हो यो । पूँजीवादले अरु त परको कुरा विज्ञान र प्रविधिसम्मलाई आफू अनुकूल प्रयोग गर्यो । उनीहरुले विज्ञान र प्रविधिमाथि निषेधको राजनीति गरेर आफू अनुकूल प्रयोग गरेर विश्वमा हावी भए ।

विज्ञान प्रकृतिको हिस्सा हो, तर उनीहरुले एउटा व्यक्ति वा कर्पोरेट हाउसभित्र यसलाई सीमित गरेर राखे ।

आजको वर्ग संघर्षको विषय नै विज्ञान प्रविधिलाई पनि आफ्नो बनाएको पूँजीवाद अनि विज्ञान र प्रविधिलाई जनस्वास्थ्य र जनहितसँग जोड्ने अर्को धुव्रबीच हो । यसमा पूँजीवाद नै हावी भइरहेको छ, अर्को धुव्र उठ्न सकेको छैन, दिइएको छैन ।

यो भनेको के हो ?

पूँजीवादले सबै कुरालाई व्यापारमुखी बनाउने क्रममा स्वास्थ्यमाथि आक्रमण गर्यो ।

खासमा मैले एलोपेथिक मेडिकल विज्ञानको विरुद्धमा बोलेको होइन, यो विधि आवश्यक छ । तर अहिले यो विधिको गलत प्रयोग भएको छ । पूँजीवादले यस्लाई ब्यापार मात्रै बनाउँदा जनस्वास्थ्य थिलथिलो बनिरहेको छ । 

मेरो कुरा त के हो भने आजसम्म मानिसहरुले आविस्कार गरेका सबै उपचार विधि र स्वास्थ्यसम्बन्धी सबै अनुभवहरुलाई उत्तिकै मान्यता दिएर अघि बढ्नुपर्छ ।

हात भाँचियो भने एलोपेथिकमै जाने हो र प्लास्टर गर्ने हो । यसको एकमात्र विकल्प एलोपेथिक नहोला तर सजिलो विकल्प यही नै हो । तर कोही अनिद्रा, तनाव, मोटोपन आदिको शिकार भयो भने किन एलोपेथिकमा जाने भन्ने मेरो प्रश्न हो । एलोपेथिकको डाक्टर नै पनि अनिद्राको शिकार भयो भने उसले जानुपर्ने त आर्युवेदकोमा हो नि ! 

तर पूँजीवादले सबै विधिलाई बाइपास गर्नेगरी एलोपेथिक विधि अघि सारेको छ ।

एलोपेथिकले अन्य सजिलो र राम्रो विकल्पलाई पनि जबर्जस्ती आफ्नो क्षेत्रभित्र ओगटेको छ, वास्तवमा सत्य के हो भने त्यसको उपचार भने ऊसित छैन !

मानव स्वास्थ्यमा जतिपनि अन्वेशनहरु छन् तिनको एकीकृत प्रयोग गरेर नयाँ उपचारमा जान जरुरी छ । प्राकृतिक, घरेलू, आर्युवेद, यूनानी सबै चिकित्सा प्रणालीको उत्तिकै महत्व छ ।

तपाईकै भाषामा ‘पूँजीवादले एलोपेथिक चिकित्सा प्रणालीमा मात्र कायम गरेको सिन्डीकेट’ तोड्ने कसरी त ?

पूँजीवादको विकल्प वैज्ञानिक समाजवाद नै हो । तर यसको नेतृत्व कहिले र कसले गर्ने त्यसमा यसको अस्तित्व निर्भर रहन्छ । यो भन्दैमा भोलि आउने व्यवस्था कस्तो हुन्छ, राम्रो हुन्छ कि हुँदैन यो सोचेर आजको हामी भित्रको खराब कुरा त्याग्न समय लगाउनु हुँदैन ।

शरीरमा पीप छ भने सबैभन्दा पहिले त्यो पीप निचोरेर फाल्ने नै हो, घाउको उपचार त्यसपछि गर्ने हो । पूँजीवाद पनि त्यही पीप हो ।

हामीसँग विकल्प पनि छ । अहिले विश्वमा जागरण पनि हुँदै गएको छ । यूरोपमै एलोपेथिक उपचारलाई जुन व्यापारको माध्यम बनाइएको छ त्यसको व्यापक विरोध भइरहेको छ । यूरोपको पुनःजागरण  कालको झिल्को अहिले स्वास्थ्य क्षेत्रमा पनि जलेको छ, जुन संसारभरी बल्छ पनि अब बिस्तारै !

यति ठूलो गुमराहका विरुद्ध जाग्ने चाहीँ कहिले त ?

यूरोपका अधिकांश देशमा लकडाउन खुलिसकेको छ, जहाँ लकडाउन छ त्यसको विरुद्धमा व्यापक प्रदर्शनहरु भईरहेका छन् । विश्व क्रमशः पुरानो लयमा फर्किने प्रयास गरिरहेको छ । तर नेपालमा लकडाउन नै कोरोना नियन्त्रणको एकमात्र विकल्प जसरी सरकार अघि बढेको छ । तर यथार्थ पर्दाफास भएसंगै यो षड्यन्त्र स्खलित भईरहेको छ । चेतना विस्तार भईरहेको छ, हेर्दैजानुहोला सत्यका पक्षमा नेपालमा पनि जनसागर उत्रिँदै छ ।

हामीले शुरुदेखि नै भन्दै आइरहेको कुरा हो कि सामान्य फ्लूलाई जुन किसिमको यो फण्डा बनाइएको छ यसको प्रतिकार गर्नुपर्छ । हामीले हरेक कुराको परिणामलाई हेर्ने हो; परिणाम हेर्ने हो भने कोरोनाको हैसियत के त ? रोगको जुन असर गर्ने क्षमता हुन्छ त्यस्तो त केही देखिँदैन कोरोनामा ।

संसारमा अहिले हरेक दिन ५० हजार मान्छे मुटुरोगबाट मर्छन्, पखालाका कारण दिनमा ४ हजार, मलेरियाले साढे ४ हजार मर्छन्, उन्मुलन भइसक्यो भनेर दाबी गरिएको औलोबाट अहिले पनि प्रत्येक दिन २ हजार मानिस मर्छन् ।

अर्थात् १० महीनाको समयमा कोरोनाबाट मृत्यु हुने भनेर उहाँहरुले नै जुन तथ्यांक ल्याउनुभएको छ, त्यो नै पनि संख्यात्मक रुपमा ठूलो जस्तो देखिए पनि यो सामान्य र अत्यन्तै कम हो । हरेक दिन विश्वमा १७ हजार मानिस श्वासप्रश्वास रोगबाट मर्छन् । अहिले अन्य रोगबाट मरेकालाई पनि कोरोनासँग जोडिएको छ भने पहिले पनि मृत्यु भइरहने श्वासप्रश्वास रोगलाई नितान्त कोरोनासँग जोडिएको छ । तर यसरी अन्य रोग जोडेर हेर्दा पनि कोरोनाको मृत्युदर त अझै पनि एकदमै न्यून छ । र यही कुरालाई उठाउन जरुरी छ, हामीले उठाइरहेका पनि छौँ ।

उसो भए बन्दाबन्दी खोल्दा हुन्छ ? 

अहिले विश्वमा तीन डिजाइनमा काम भइरहेको छ ।

पहिलो त जहाँ कोरोनाको कारण देखाउँदै बन्द गरिएको छ तिनले डब्लूएचओले जे भनिरहेको छ त्यही मानिरहेका छन् । किनकी उनीहरुले डब्लूएचओको सहायता लिएका छन् । बेलारुसले डब्लूएचओ र वर्ल्ड बैंकको सहायता लिएन लकडाउन पनि गरेन । तर पनि अवस्था सामान्य छ, कोही कोरोनाले मरेका छैनन् ।

नेपालको कुरा गर्नुपर्दा नेपालले डब्लूएचओको आर्थिक सहायता लिएको छ । विश्व बैंकको आर्थिक सहायता लिएको छ । त्यसैले डब्लूएचओले जे भनिरहेछ त्यही गरिरहेको छ ।

सरकारले कोरोनाको कारण देखाउँदै अर्बौं खर्च गरेको छ, यसलाई खर्बौं पुर्याउने योजनामा छ ।

दोस्रो कुरा नेपाल सरकारले जति पनि स्वास्थ्य क्षेत्रका लागि काम गरिरहेको छु भनेको छ त्यसमा अर्बौंको भ्रष्टाचार गरेको छ । यो मेरो आरोप होइन, सञ्चार माध्यमहरुमा नै प्रमाणसहित आइसकेको कुरा हो । त्यसकारण उसलाई यही नाममा भ्रस्टाचार गर्न कठीन छैन र ऊ यसलाई नै निरन्तरता दिन चाहन्छ ।

तेस्रो कुरा डब्लूएचओले नेपाल जस्ता देशमा भ्याक्सिनको ‘ट्रायल’  गर्दैछ, स्वास्थ्य मन्त्रालयले त्यसका लागि अनुमति दिइसकेको छ । चीनमा कोरोना आयो त्यहाँ भ्याक्सिन कसैले लगाउनु नपर्ने तर नेपालमा लगाउनुपर्ने ? यसको कारण के हो त ? यूरोपमा विरोध भएपछि अहिले डब्लूएचओले त्यहाँ लकडाउन आवश्यक छैन भन्न थालेको छ ।

यसकारण सरकारले २४ गतेपछि पनि लकडाउन थप्यो भने त्यसको देशभरबाट भद्र शान्तिपूर्ण आन्दोलन गर्ने तयारी हामीले गरेका छौं । कुनै एकाध व्यक्तिले प्रतिकार गर्ने भन्दा पनि हामी सबैको सरोकारको विषय हो यो । व्यापारीहरुले संसारमा जेकुराको पनि व्यापार गर्न सक्छन् भन्ने उदाहरण हो कोरोना, लकडाउन गरेर जीवनयापन ठप्प पार्नुपर्ने रोग नै होइन यो । त्यसैले आम मानिसले सामूहिक नेतृत्वमा यस्को विरोधमा जानुपर्छ ।

आन्दोलनमा जाँदा तपाईहरुको माग के हुन्छ ?

हाम्रो पहिलो माग लकडाउनको खारेजी हो । तर्क, तथ्य र विज्ञानलाई हेरेर अन्य विषयमा हामी बहस गर्न तयार छौं । गर्छौं। तर यतिवेलाको पहिलो शर्त भनेको लकडाउनको अन्त्य नै हो ।

२४ गतेपछि लकडाउन खुकुलो भयो र त्यसको केही दिनपछि फेरी सुरु  भयो भने तपाईंहरुको अभियान के हुन्छ ?

जनतासँग लुकाएर नलुक्ने अवस्थामा परिस्थिती आईपुगेको छ । लकडाउन खोल्ने र बन्द गर्ने गर्दा कोरोनाको प्रभाव त्यति व्यापक छैन भन्ने जनता आफैले बुझ्छन् र प्रतिकारमा उत्रिन्छन् । हामी यो अभियानमा निरन्तर अघि बढिरहन्छौं ।

कोरोनाबाट डराउनु पर्दैन भन्नुभयो । एलोपेथिक उपचार पद्धतीको खरो खण्डन पनि गर्नुभयो । अब रोगबाट जोगिने कसरी ? उपचार गर्ने चाहिँ कसरी ?

हाम्रो शरीरको संरचना अन्य जीवजन्तुहरुको जस्तै हो । त्यसैले पहिलो कुरा खानपानलाई प्राकृतिक बनाउने हो । यहाँ त विडम्बना के भयो भने गाँजा जस्तो सर्वगुणसम्पन्न जडिबुटीलाई गैरकानूनी भनी गाँजा खेतीलाई कानूनविपरित परिभाषित गरियो । गाँजाको एउटा पनि बेफाइदा छैन । पूँजीवादले हाम्रा जडिबुटीसम्मलाई निरुत्साहित गरी औधोगिक उत्पादनलाई जोड दिएको छ, यो त्यसकै एउटा ज्वलन्त हस्तक्षेप हो ।

कोरोना आतँक मच्चाईएकै समयमा पनि सामाजिक र मानसिक कारण मानिसले मर्नु परे पनि अन्य रोगबाट मर्नेको संख्या घटेको छ । कारण के भने बजार, खानपान र जीवनशैलीमा परिवर्तन आएको छ । हामीलाई प्रकृतिले नै स्वस्थ बनाउने हो र बँचाउने हो भन्ने पुष्टि भएको छ । 

त्यसैले प्रकृतितर्फ फर्कौं भन्ने अभियानलाई अघि बढाउँदै प्राकृतिक खानेकुरालाई हामीले स्वीकार्नुपर्छ । पर्यायवरण र प्रकृतिमैत्री आहार, ब्यबहार, राजनीति र जीवनशैलीमा हामी जानुपर्छ । त्यसैले प्रकृतितर्फ फर्किनुको विकल्प छैन ।