जनकपुर – मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक-एक लाख प्रदान गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्
गढीमाई–७ बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिङ्की, लक्ष्मण दासकी १५ वर्षीया छोरी सुस्चिता र छठु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारीको सो नदीमा डुबेर मृत्यु भएको थियो । ऋषि पञ्चमीको अवसरमा आइतबार नुहाउन जाँदा तीनै बालिका वेपत्ता भएका थिए ।
सोही दिन धर्मपुर चौकीबाट खटिएको प्रहरी र स्थानीयले खोजतलास गर्दा अपराह्नको समयमा पिङ्कीको शव फेला परेको थियो भने मङ्गलवार माधवनारायण नगरपालिका–८ स्थित बागमती खोलाको किनारमा सुस्चिताको र राजदेवी नगरपालिका–९ स्थित ब्रह्मपुरीस्थित बागमती नदीको किनारमा चञ्चलको शव फेलापरेको थियो ।