काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गर्ने, खोल्ने, फेरी बन्द गर्ने बाहेक कुनै उपाय निकाल्न नपाएको आरोप लगाएको छ ।


ADVERTISEMENT


कांग्रेसको कोभिड–१९ अनुगमन समितिको बैठकले सरकारलाई कोरोना विरुद्ध लड्न लकडाउन वा निषेधाज्ञाको विकल्प खोज्न आग्रह गरेको छ । अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहीन देखिएको भन्दै समितिले नागरिक जीवन सहज पार्ने ठोस अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गर्न माग गरेको हो ।


ADVERTISEMENT

# # #


समितिले हरेक अस्पतालमा कोरोना संक्रमित राख्ने कुरा व्यवहारिक नभएकाले तत्काल केही निजी अस्पताललाई पनि कोरोना विशेष अस्पताल बनाउन आग्रह गरेको छ । अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न, स्वास्थ्यकर्मीको बीमाको व्यवस्था गर्न र जोखिम भत्ता उपलब्ध गराउन तथा चिकित्सकमाथि हुने दुर्व्यवहारका घटना घट्न नदिन सरकारको ध्यानाकर्षण गराएको छ ।

पीसीआर परीक्षणको दायरा बढाउन, विदेशमा अलपत्र परेका नेपालीहरुलाई नियमित उडानमार्फत स्वदेश फर्काउन र उनीहरुलाई गुणस्तरीय क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न, शैक्षिक शत्र खेर जान नदिन वैकल्पिक विधि अपनाउन लगायतका १३ बुँदे सुझाव दिएको छ ।

यस्ता छन् सरकारलाई कांग्रेसको कोभिड–१९ समितिका १३ सुझाव

१. अहिलेसम्म सरकार दिशाविहिन र योजनाविहिन छ । यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गरियोस् ।

२. कोरोना संक्रमण फैलदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी हरेक अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने कुरा व्यवहारिक नभएकोले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गरियोस् ।

३.अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गरियोस् ।

४. स्वास्थ्यकर्मीहरुलाई विमाको व्यवस्था तत्काल कार्यान्वयन गर्नुको साथै कोरोना जोखिम भत्ताको व्यवस्था गरियोस् ।

५. चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हुने गरेको दुव्र्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गरियोस् । साथै संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्धार र उपचारको व्यवस्था सरकारले गरोस् ।

६. संक्रमणको सर्भिलेन्स र टे«सिङको आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा पिसिआर परिक्षणलाई व्यापक बनाइयोस् ।

७. उपचारको क्रममा उपयोगी औषधीहरुलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गरियोस् ।

८. स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमण व्यवस्थापकीय तालिमलाई विस्तार गरियोस् ।

९. विदेशमा अलपत्र श्रमिकहरुलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था सरकारले गरोस् ।
१०.  हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुलाई व्यवस्थित आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था मिलाइयोस् ।

११. देशभर आवश्यक मात्रामा आइसोलेसन केन्द्र र क्वारेन्टाइन केन्द्रहरु स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाइयोस् ।

१२. कोरोना संक्रमण भएकाहरुलाई लक्षणको स्वरुप हेरी आइसोलेसनमा राख्ने वा उपचारमा राख्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने केन्द्रीकृत र अव्यवहारिक निर्णय तत्काल फिर्ता गरी सम्बन्धित अस्पतालहरुले निर्णय गर्ने व्यवस्था गरियोस् ।

१३. शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परिक्षा वैकल्पिक विधि अपनाएर भए पनि संचालन गरियोस् ।