काठमाडौँ – सनातन हिन्दू धर्मावलम्बीले वर्षभर देवता र पितृकार्यका लागि आवश्यक पर्ने कुश आज घर घरमा भित्र्याएका छन् । भाद्र कृष्ण औँसीका दिन आज शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर यजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।


ADVERTISEMENT


आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । हिन्दू धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् ।


ADVERTISEMENT

# # #


यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाई आदर सम्मान प्रकट गरी बाबुको मुख हेर्ने पर्वसमेत मनाएका छन् । बाबु नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँशीलाई गोकर्णे औँशीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्र पूर्णरुपमा सिल गरिएको छ ।

मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखेर रोकिएको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले सुरक्षितरुपमा घर घरमै पितृसम्मान दिवस मनाउन आह्वान गरेको छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँशीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा देशका विभिन्न भाग एवं भारतबाट समेत हजारौँ भक्तजन पितृतृप्तिको कामनाले आउने गरेका थिए ।