काठमाडौँ – विद्युत् उत्पादन, प्रसारण र वितरण गर्दै आएको नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष (आ. व.) २०७६/७७ मा करिब ११ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । आ.व. २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटा ब्यहोरेको प्राधिकरणले निरन्तर फड्को मार्दै गत आ.व.मा सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बनेको छ ।


ADVERTISEMENT


यस्तै प्राधिकरणले आ. व. २०७२/७३ मा ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटा ब्यहोरेको थियो । तर आ.व. २०७६/७७ मा करिब रु. ५ अर्ब सञ्चित नाफा कमाउन सफल भएको छ । प्राधिकरणले विद्युत् चुहावटलाई पनि गएका चार वर्षमा निकै तल झारेको छ । आ.व. २०७२/७३ मा २५.७८ प्रतिशत विद्युत् चुहावट भएको थियो । तर आ.व. २०७६/७७ मा उक्त तथ्याङ्क १५.२७ प्रतिशतमा सीमित भएको छ । यसरी प्राधिकरणले चार वर्षमा १० प्रतिशत बढी विद्युत चुहावट रोकेको छ ।


ADVERTISEMENT

# # #


बढ्यो विदुत् खपद् र उत्पादन

गएका चार वर्षमा प्राधिकरणका ग्राहकमा पनि निकै वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७२/७३ मा २९ लाख ६९ हजार ५ सय ७५ ग्राहक रहेकोमा आव २०७६/७७ मा आइपुग्दा कुल ग्राहक संख्या ४२ लाख पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ग्रीडको विद्युत् पहुँच पुगेको जनताको संख्या चार वर्षअघि करिब ६३ प्रतिशत थियो भने अहिले करिब ८६ प्रतिशत पुगेको छ । विद्युत्को पहुँचमा चार वर्षभित्र करिब २३ प्रतिशतले वृद्धि भएको छ । यस्तै विद्युत खपद् पनि बढेको छ । आव २०७२/७३ मा प्रतिव्यक्ति वार्षिक विद्युत् खपत १३१ युनिट रहेकोमा त्यसयता विद्युत् खपत निरन्तर बढेर आव २०७६/७७ मा २६० युनिट पुगेको छ ।

नेपालमा विद्युत उत्पादन ५७ प्रतिशतले वृद्धि भएर १२ सय ५८.७ मेगावाट पुगेको छ । चार वर्षअघि यो ८०१.७ मेगावाट थियो ।

प्र्राधिकरणले आव २०७६/७७ मा १० करोड ७० लाख युनिट विद्युत् निर्यात गरेको छ । चार वर्षअघि अर्थात् आव २०७२/७३ मा ३१ लाख ५० हजार युनिट निर्यात गरेको थियो । केही वर्षभित्रमै विद्युत्मा आत्मनिर्भर भई नेट निर्यात सुरु गरिने प्राधिकरणले जनाएको छ । विद्युत आयात २२ प्रतिशतमा सीमित भएको छ भने आगामी वर्ष यो ५ देखि १० प्रतिशतमा सीमित हुनेछ ।

६६ केभी र सोभन्दा माथिका प्रसारण लाइनको लम्बाइ ४७ प्रतिशतले वृद्धि हुँदै गत आर्थिक वर्षमा करिब ४ हजार २ सय ७५ सर्किट किलोमिटर पुगेको प्राधिकरणले जनाएको छ । यस्तै ग्रीड सबस्टेसनहरूको क्षमता करिब दोब्बर वृद्धि हुँदै क्षमता ४ हजार १ सय ६१ एमभिए पुगेको छ ।