काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । जसमध्ये पर्साको पोखरिया नगरपालिका वडा नं. ९ निवासी १८ वर्षीय एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलाको झाडापखालाका कारण सिकिस्त भइ उपचार नेसनल मेडिकल कलेज वीरगञ्ज लैजाने क्रममा बाटैमा साउन १९ गते मृत्यु भएको हो । नेसनल मेडिकल कलेज वीरगञ्जमा स्वाब नमूना संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा उनमा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै पर्साको वीरगञ्ज महानगरपालिका ५ बस्ने ४६ वर्षीय पुरुषको साउन २१ गते (आज) बिहान ६ बजे अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार विगत केही वर्षदेखि मधुमेहका रोगी रहेका ती पुरुष ज्वरो तथा खोकी लागेपछि अस्पताल भर्ना भएका थिए । साउन १९ गते नमूना संकलन गरिएकोमा सोही दिन उनमा कोरोना पुष्टि भएको थियो भने साउन २० गते आइशोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या २१ हजार ३९० रहेको छ । आज मात्रै ३८१ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १५ हजार १५६ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १३० जना उपचार पछि निको भएका छन् ।