काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जसमध्ये मोरङका एकजना र पर्साका २ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा मोरङको सुनवर्सी नगरपालिका वडा नं. ८ निवासी ४५ वर्षीय पुरुषको हिजो (बुधबार) मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ज्वरो र श्वास प्रश्वासमा कठिनाई भएपछि हिजै ती पुरुषलाई कोभिड–१९ अस्पताल विराटनगरबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।


ADVERTISEMENT

# # #


हिजै उनमा कोरोना पुष्टि भएको थियो । भेन्टीलेटरमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो । उनी निरन्तर नेपाल–भारत आउजाउ गरिरहन्थे ।

यस्तै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ७ का ७० वर्षीय एक पुरुषको पनि हिजै कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले जनाए । मुटु तथा मधुमेह रोगका बिरामी समेत रहेका ती पुरुष वीरगञ्जको एक निजी अस्पतालमा उपचार गराइरहेका थिए । कोरोना पुष्टि भएपछि साउन ८ गते नारायणी अस्पतालमा भर्ना भई उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान मृत्यु भएको हो ।

यस्तै पर्साकै वीरगञ्ज महानगरपालिका वडा नं. ५ निवासी ६८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणपछि मृत्यु भएको छ । सानउ ७ गते कोरोना पुष्टि भएका उनको पनि हिजो (बुधबार) नै मृत्यु भएको हो । प्रवक्ता डा. गौतमका अनुसार मिर्गौलाका बिरामी ती पुरुष झाडापखालाको उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा जाँच गराएर साउन १३ गते नारायणी अस्पताल आएका थिए । नारायणीमा आइसीयूमा राख्न नसिकिएकाले उनी नेसनल मेडिकल कलेजमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको हिजो मृत्यु भएको हो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १९ हजार ५४७ रहेको छ । आज मात्रै २७४ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १४ हजार २४८ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २२७ जना उपचार पछि निको भएका छन् ।