काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव रमेश सिलवाल र उपाध्यक्ष शिव कोइरालाले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।


ADVERTISEMENT


बुधबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक समारोहका बीच उनीहरुलाई खेलकुदमन्त्री जगत विश्वकर्माले शपथ खुवाएका हुन् । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले खुला प्रतिस्पर्धाको आधारमा सदस्य सचिवमा सिलवाल र उपाध्यक्षमा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


हालैमात्रै कार्यान्वयनमा आएको राष्ट्रिय खेलकूद विकास ऐन २०७७ मा भएको व्यवस्था अनुसार पहिलो पटक राखेपका पदाधिकारीलाई खुला प्रतिस्पर्धाका आधारमा छनोट गरिएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समितिले सदस्य सचिवका लागि निवेदन दिएका २७ जनामध्येबाट सिलवालसहित ३ जनाको नाम मन्त्रालयलाई सिफारिस गरेको थियो ।

शपथ पछि सदस्यसचिव सिलवाललाई स्वागत गर्दै खेलकुदमन्त्री विश्वकर्मा। तस्बिर : रासस

जसबाट मन्त्रीपरिषद्ले सिलवाललाई छनोट गरेको हो । नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य–सचिव सिलवाललगायत सदस्यहरु स्वतः पदमुक्त भएका थिए । तर, मन्त्रीपरिषद्ले उनलाई नै दोहोर्‍याएको हो । उनको कार्यकाल ४ वर्ष रहनेछ ।

गत वर्षको असारमा सदस्यसचिव बनेका उनले आफ्नो पहिलो एक वर्षे कार्यकालमा १३ औा दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न गरेका थिए ।

यता उपाध्यक्ष कोइरालाले भने १३औँ सागको प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गरेका थिए । उपाध्यक्ष कोइरालाको पनि चार वर्षको पदावधि रहनेछ ।