सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । पहिरोले बगाएको घरछेउमै शव भेटिएको हो ।राति १ बजेतिर खकुन्डोलमाथिबाट आएको पहिरोले दुई घर बगाएकोमा एकै परिवारका पाँच जना बेपत्ता भएका थिए । एक जनाको शव भेटिए पनि कसको हो भन्ने पहिचान भइनसकेको गाउँपालिका प्रमुख राजकुमार पौडेलले बताए ।


ADVERTISEMENT


‘तर घरछेउमै भेटिएकाले पक्कै परिवारकै ५ जनामध्ये एकको हुनुपर्छ,’ उनले भने । पौडेलका अनुसार बेपत्ता हुनेमा स्थानीय ग्याल्जेन शेर्पाकाे परिवारका १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ७५ वर्षीया सुमबुट्टी शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा छन् । ग्याल्जेन भने राजधानीमा सवारी चलाउने पेसामा रहेकाले घटनाका बेला घरमा थिएनन् ।


ADVERTISEMENT

# # #


स्थानीयका अनुसार राति पहिरो खसेको आवाजसँगै वरिपरिको बस्ती थर्किएको थियो । पहिरोले फुल्पिङकट्टीकै नोर्साङ शेर्पाको घर बगाउनुका साथै पञ्चकन्या आधारभूत विद्यालयमा समेत क्षति पुर्‍याएको छ । ‘पहिरो आँखैअगाडि बाट भास्सिएर गयो, के हो भन्ने थाहा नपाउँदै भागेर बाँचियो,’ नोर्साङले भने ।

स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर बेपत्ता अन्यको पनि खोजी गरिरहेका छन् ।