काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जसमध्ये काठमाडौँका २ जना र सिन्धुपाल्चोकका १ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा काठमाडौँ–१० शंखमुलका ६० वर्षीय एक पुरुषको असार २६ गते (शुक्रबार) उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ती मृतक फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उनको असार १७ गते गरिएको कोरोना परीक्षणमा नतिजा पोजेटिभ आएको थियो ।


ADVERTISEMENT

# # #


यस्तै सिन्धुपाल्चोकको पाँचपोखरी वडा नं. ६ का ४५ वर्षीय एक पुरुषको पनि कोरोना कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले जनाए । ती मृतक क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा कोरोना परीक्षण गर्दा उनमा असार २२ गते नतिजा पोजेटिभ आएको थियो । उनको असार २५ गते मृत्यु भएको हो ।

यस्तै काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का ५४ वर्षीय १ पुरुषको असार २५ गते उपचारको क्रममा मृत्यु भएको छ । उनी मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको श्वास प्रश्वासमा पनि समस्या भएकाले असार २१ गते उनको श्वाब संकलन गरिएको र कोरोना पुष्टि भएको थियो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १६ हजार ७१९ रहेको छ । आज ७० जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये ८ हजार ४४२ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४३१ जना उपचार पछि निको भएका छन् ।