काठमाडौँ – सरकारले गरेको नेपाल प्रहरीको २८ औँ महानिरीक्षक (आईजीपी) नियुक्तिलाई स्वीकार गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) हरि पालले सबैको मन जितेका छन् ।


ADVERTISEMENT


सँगैका साथी शैलेश थापाले प्रहरी प्रमुखको जिम्मेवारी (आईजीपी) पाउँदा त्यही प्रतिस्पर्धामा रहेका एआईजी पालले प्रस्तुत गरेको उच्च आदर्शले संगठनमा इतिहासकै अभूतपूर्ण एकता स्थापित भएको प्रहरी अधिकारीहरुको विश्लेषण छ । नेपाल प्रहरीको आलोचित विगतलाई पखाल्दै एआईजी पालले प्रहरीमा हाईहाईको सन्देश प्रवाह गरेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि आईजीपी नियुक्तिमा देखिने अस्वस्थ दौडधुप, विरोध र असन्तुष्टिको परम्परा भन्दा माथि उठेर आईजीपी पालले ठूलो छाती, नैतिक व्यवहार र उच्च चेतना प्रदर्शन गरेका छन् । यसको अहिले प्रहरी संगठनमा मात्रै होइन सवत्र प्रशंसा भइरहेको छ ।

‘मेरो सबैभन्दा मिल्ने साथी आईजीपी भएकोमा मलाई गर्व लागेको छ । सरकारले गरेको यो निर्णयमा म एकदमै खुसी छु ।’ एआईजीपी हरि पालले भनेका छन्, ‘हामीहरुले जो प्रमुख भए पनि मिलेर काम गर्ने प्रतिवद्धता गरिसकेका छौं ।’ उनको यही अलौकिक भनाई र व्यवहारले नेपाल प्रहरीमा उच्च संस्कारको नजीर स्थापित भएको छ । कुर्सी जित्ने खेल भन्दा पनि मन जित्ने कर्म दीगो हुन्छ भन्ने दिव्यज्ञानका लागि यो ज्वलन्त उदाहरण बन्न सक्छ ।

प्रहरी अधिकारीहरु भन्छन्, ‘कुर्सी एउटा मात्रै छ, प्रतिस्पर्धी दुईजना । एआईजीपी पालले देखाएको उच्च चरित्रले दुवैजनालाई विजयी बनाईदिएको छ । थापाले पद जिते, पालले मन र सम्मान ।’

जिम्मेवारी बाँडफाँडमा आ-आफ्नो भूमिका निर्वाह गर्नु त प्रकृतिको नियम नै हो । कर्मको दायित्व नै हो । आईजीपी र एआईजीपीहरूको एकता र सहकार्यले नै देशको सुरक्षा व्यवस्था बलियो बन्छ, संगठनको छवि सुधारिएर जान्छ । यही महान कर्मको नेतृत्व अब थापा र पालको काँधमा संयुक्त रूपमा आईपुगेको प्रहरी अधिकारीहरु बताउँछन् । अब दुवैले एक अर्काका परिपुरक भएर देश र जनताको सुरक्षा अनि संगठनको गरिमाका लागि सेवाको अन्तिम कालखण्डमा पाएको समय र अवसरको भरमग्दुर सदुपयोग गर्नेछन् भन्ने प्रहरी अधिकारीहरुको विश्वास छ ।

सर्वोत्कृष्ट कार्यक्षमताले सँधै परिचित एआईजीपी पाल प्रहरी संगठनभित्र कमाण्ड क्षमता भएको, बोल्ड निर्णय लिन सक्ने र रणनीति बनाउन अब्बल विशिष्ठ प्रहरी अधिकारीका रूपमा चिनिन्छन् । महाभारतमा अर्जुनका सारथी श्रीकृष्ण भए झैं नेपाल प्रहरीको ‘रथ’ थापाले हाँकेपनि ‘अर्जुनवाण’ हान्ने महारथी भने पाल नै हुने कतिपयले आँकलन गरेका छन् ।

नेपाल प्रहरीमा पाल सँधै आदर्श कर्मका प्रतिमूर्ति

एआईजीपी पाललाई समयले इतिहासमा सँधै सम्झिने आदर्श कर्मका प्रतिमुर्तीका रूपमा चिनाएको छ । यद्दपी यो उनको व्यक्तित्व प्रहरी संगठनमा अनवरत कर्तव्यपरायणकै फल हो । जसले जिम्मेवारीमा आफू होईन, देश, जनता र संगठनलाई शिरमा राखे ।

एक प्रहरी अधिकारी भन्छन्, ‘उनी जहाँ हुन्छन्, त्यहाँ जिम्मेवारीको कुशलता प्रदर्शन गर्छन् ।’ एआईजीपी पाल हाल प्रहरीको अत्यन्तै संवेदनशील अपराध अनुसन्धान तथा कार्य विभागको कमाण्ड सम्हालिरहेका छन् ।

यसअघि डीआईजी बढुवालगत्तै पालले विभिन्न आपराधिक घटना हुने प्रदेश २ प्रहरी प्रमुखका रूपमा कार्यकाल सफल बनाएका छन् । यस्तै, प्रहरीको विशेष ब्यूरो प्रमुख रहँदा पालले अपराध र हिंसा नियन्त्रणका लागि सरकारको अभियानमा काँध थापेका थिए । उनले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका हजारौँ नेता/कार्यकर्ताहरूलाई पक्राउ गर्न सफल भएका थिए ।

एसएसपी हुँदा पालले संघीय प्रहरी इकाइ कोसीको कमाण्ड सम्हाले । यस्तै एसपी हुँदा महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कास्की, धनुषा र रुपन्देहीको नेतृत्व सम्हालेका छन् । त्यस्तै, प्रहरी महानिरीक्षकको सचिवालयमा समेत बसेर देशैभरीका प्रहरीहरूको नजिक रहेर काम गरेको अनुभव उनीसँग छ ।

डीएसपी हुँदा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, जिल्ला प्रहरी कार्यालय नुवाकोट र काठमाडौँ प्रहरीको मुद्दा शाखा प्रमुख भएर काम गर्दा समेत पनि पाल चर्चित नै रहे । प्रहरी निरीक्षक हुँदा पालले वडा प्रहरी कार्यालय धनगढी र बौद्धको नेतृत्व सम्हालेका छन् ।

उनी द्वन्द्वकालमा विशेष अप्रेसनका लागि तत्कालीन माओवादी प्रभावित क्षेत्र रोल्पा, रुकुममा समेत खटिएका थिए ।

एआईजीपी पाल नेपाल प्रहरीमा पूर्वदेखि पश्चिमसम्म सेवा गर्दै देश बुझेको र संगठनको तल्लो तहसम्मको पनि मर्म बुझ्न सक्ने क्षमता भएका विशिष्ठ प्रहरी अधिकारी हुन् । उनको प्रहरी सेवाको अधिकांश समय फिल्डमा खटिएरै बितेको छ । समयक्रममा चिनिएको परिचय जुन रूपमा सबैका लागि ‘हाईहाई’ बनेको छ ।

सेवाको अन्तिम घडीसम्म त्यो बचाईराख्ने अग्निपरीक्षा पास भएमा ‘एआईजीपी पाल’ नेपाल प्रहरीमा सँधै आदर्श नामले पुकारिनेछन् ।