काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्वीकार्य नहुने स्पष्ट पारेका छन् । पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी सहमति कायम गर्नुको विकल्प नभएको उनको भनाई छ ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लबमा बोल्दै नेता रायमाझीले पार्टीभित्र अहिले देखिएको आन्तरिक विवाद नीति, विचार र विकास र समृृद्धिको एजेण्डाभन्दापनि शक्ति बाँडफाँडमा बढि केन्द्रीत रहेको स्पष्ट पारे । उनले भने, ‘अहिले नेकपाभित्रको विवाद खासगरी पावर सेयरिङमा सम्बन्धित छ । यही विषयले उचाई लिईरहेको छ । अहिलेको बहस एजेण्डामा भन्दापनि कसरी सरकार परिवर्तन गर्ने भन्नेमा केन्द्रित रहेको छ ।’


ADVERTISEMENT

# # #


उनले लामो समयपछि नेपाली जनताले दुई तिहाई बहुमत दिएर मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र विकास र समृद्धिको एजेण्डालाई अघि बढाउन नेकपालाई सरकारमा पठाएको सुनाउँदै सोहीअनुसार नेकपा र यसको नेतृत्वमा रहेको सरकार खरो रूपमा उत्रिनुपर्नेमा जोड दिए । सरकारले जनताका अपेक्षा पूरा गर्नेगरी काम नसकेको उनले स्वीकार गरे । अहिले पार्टी एकताका अधुरो कामपनि ओझेलमा परेको उनको गुनासो छ ।

मुलुक यतिवेला कोरोनाको महामारीविरुद्ध लडिरहेको, सिमा विवादमा सिंगो राष्ट्र एकजुट भएर लागिरहेको सुनाउँदै उनले यस्तो बेलामा बहस र छलफल अरु विषयमा केन्द्रित गर्नु दुःखद् भएको टिप्पणी गरे । रायमाझीले अहिले सरकार परिवर्तन गर्नु वा प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउन खोज्नु पार्टी एकताको म्याण्डेटविपरित हुनेपनि टिप्पणी गरे । ‘एकता महाधिवेशन नभएसम्म सहमतिका साथ अघि बढ्ने समझदारी छ । अहिले बहुमत वा अल्पमतमा जाने होईन् ।’ उनले भने, ‘बहुमतको आधारमा अध्यक्ष वा प्रधानमन्त्री परिवर्तन गर्दा त्यो पार्टी एकताको म्याण्डेटविपरित हुन्छ ।’

अहिले प्रधानमन्त्री परिवर्तन गरिए देश अस्थिरतातर्फ जानेपनि उनले खतरा औंल्याए । तर, आवश्यक पर्यो भने सहमतिका आधारमा पदको बाँडफाँड भने गर्न सकिने विषय भएको उनको भनाई छ । पार्टीमा देखिएको विवाद समाधानका लागि विधि, प्रक्रियासम्वद्ध छलफलको माध्यमबाट हल गर्नुपर्ने उनले उल्लेख गरे । नेकपा विभाजन भए गणतन्त्र नै खतरामा पर्ने उनको टिप्पणी छ । उनले नेताहरुलाई सहमतिको लागि अन्तिमसम्म प्रयत्न गर्नपनि आग्रह गरे ।

रायमाझीले पार्टीका शीर्ष नेताहरुले अहिलेको विवाद मिलाउन नसके उनीहरुको नेतृत्व र खुबीमाथि प्रश्नचिन्ह उठ्नेपनि टिप्पणी गर्दै भने, ‘उहाँहरुलाई विवाद मिलाउने अधिकार छ । तर, पार्टी विभाजन गर्ने राईट्स छैन् ।’