काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फेल हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिने आँट गर्न नसकेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले विदेशी भूमिका गएर संसदको निर्णयको धज्जी उडाउने काम देशका प्रधानमन्त्रीले गर्नु कुनै पनि हिसावले सुहाउने विषय नभएको पनि पुनः स्मरण गराए ।


ADVERTISEMENT


आइतबार बिहान चितवनको भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विदेशी भूमिमा गएर गिडीगिडी गर्नु भन्दा त प्रधानमन्त्रीले संविधान संशोधन जस्तो महत्वपूर्ण विषय संसदमा फेल भएपछि नैतिकताको आधारमा राजीनामा दिएको भए उपयुक्त हुने धारणा राखे । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिखित भाषण नै छाडेर संविधान संशोधनको विषयलाई उठान गरेकाले आफूले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले राज्यसत्ताकै संरक्षणमा आयल निगमको जग्गा खरिदमा अनियमितता भएको आरोप पनि लगाए । उनले राज्य शक्तिको दुरुपयोग गरेर हुने भ्रष्टाचार रोक्न कठिनाइ हुने पनि उल्लेख गरे । अध्यक्ष ओलीले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपयुक्त नभएको उल्लेख गर्दै समय आएपछि आफ्नो पार्टीले त्यसलाई सुधार गर्दैै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।