काठमाडौँ – गृह मन्त्रालयले कोभिड–१९ सँगै मनसुनजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ ।


ADVERTISEMENT


मनसुन शुरु भएकाले त्यसबाट उत्पन्न विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा आज मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो ।


ADVERTISEMENT

# # #


बैठकमका मन्त्री थापाले मातहतका निकायलाई आवश्यक पूर्वतयारीमा जुट्न र त्यसबाट हुने क्षति रोक्ने उपाय खोजेर तयारीमा लाग्न निर्देशन दिए । “मनसुनजन्य विपद्सँगै कोभिड–१९ को विपद् पनि छ, त्यसलाई रोक्न र क्षति न्यूनीकरण गर्ने जिम्मेवारी हामीहरुको छ, यसमा हाम्रो भूमिका बढाउनु जरुरी छ”, गृहमन्त्री थापाले भने ।

गैरसरकारी संस्थाहरुलाई पनि विपद् रोक्ने कार्यमा सहकार्य गर्नेसमेत गृहमन्त्री थापाले बताए । आजको बैठकमा प्रस्तुत भएको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास भएको गृह मन्त्रालयले जनाएको छ ।

आएका योजना उपयुक्त रहेकाले त्यसको कार्यान्वयनमा लाग्नुपर्नेमा मन्त्री थापाको जोड छ । उनले यो वर्ष औसतमा विपद् आउँछ भन्ने आँकलन गरिए पनि ठूलै विपद् आउँछ भन्ने ढङ्गले तयारी गरेर भूमिका निर्वाह गर्नुपर्नेमा आवश्यकता औँल्याए ।

बैठकमा मन्त्री थापाले थपे, “एउटा सरकारीस्तरबाट तयारी गर्नुपर्छ, अर्को प्रदेश र स्थानीय तहले तयारीका साथ आ–आफ्नो जिम्मेवारी लिन जरुरी रहेको छ, त्यसका साथै गैरसरकारी निकायको पनि भूमिका छ ।”

यो वर्ष विपद्को सामना गर्दा दुई वटा विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्नुपर्नेमा मन्त्री थापाले जोड दिए । रासस