स्याङ्गजा – गल्याङ नगरपालिकाले ५० श्ययाको आइसोलेशन वार्ड बनाएको छ । गल्याङ नगरपालिका–३ स्थित बल्पुकमा रहेको नगर अस्पतालमा कोरोनाबाट सङ्क्रमित भएकालाई राख्न ५० शय्याको आइसोलेशन वार्ड तयार गरिएको नगरपालिकाले जनाएको छ ।


ADVERTISEMENT


गण्डकी प्रदेश सरकार र गल्याङ नगरपालिकाको समन्वयमा नगर अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारिएको नगरपालिकाका प्रमुख भूपराज अधिकारीले बताए । नगरप्रमुख अधिकारीले भने “कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जिल्लामा सङ्क्रमितलाई राख्न समस्या आउनसक्ने भएकाले नगर अस्पताललाई आइसोलेशन शय्यासहित तयारी अवस्थामा राखेका छौँ ।”


ADVERTISEMENT

# # #


अहिले जिल्ला अस्पताल स्याङ्जामा १० शय्या र कालिका सामुदायिक अस्पताल हेलुमा ६० शय्याको आइसोलेशन क्षमता रहेको छ । गल्याङमा रहेको नगर अस्पताललाई नगरपालिकाले आइसोलेशन अस्पताल बनाएसँगै उपचारमा सहज हुने भएको छ । भारतबाट आएका २०१ जनालाई नगरपालिकाले क्वारेन्टिनमा राखेको छ भने कोरोना सङ्क्रमण देखिएका १८ जनालाई हेलुमा रहेको कालिका सामुदायिक अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेको छ ।

सङ्क्रमितको सङ्ख्या ५० जनाभन्दा माथि भएमा नगरपालिकाले १ नम्बर वडामा रहेको मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र तथा वडा नं ८ र ११ मा रहेका स्वास्थ्य चौकीमा पनि आइसोलेशन निर्माण गर्ने तयारी भएको नगरप्रमुख अधिकारीले बताए ।

गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको रु १० लाखको लागतमा निर्माण शुरु गरिएको आइसोलेशनको अपुग खर्च गल्याङ नगरपालिका र प्रदेश सरकारले संयुक्त रुपमा व्यहोर्ने प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए। आइसोलेशनमा राखिएका नागरिकमा कोरोनाको थप लक्षण देखिए पोखरा पठाउने व्यवस्था गरिएको पनि प्रजिअ क्षेत्रीले जनाकारी दिए ।