तनहुँ – तनहुँका पहिलो कोरोना संक्रमित आज निको भएर अस्पतालबाट घर फर्किएका छन् । ऋषिङ गाउँपालिका–४ का २८ वर्षीय युवक १५ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत ती युवकलाई केन्द्रका सञ्चालक राम भण्डारी, निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलगायतले बिदाइ गरे।
भारतबाट गत जेठ १० गते फर्किएर व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा बसेका ती युवकलाई जेठ १८ गते कोरोना पुष्टि भएको थियो । आज दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिए ।
डा श्रेष्ठका अनुसार ती युवकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन जिल्ला आयुर्वेद कार्यालयले उपलब्ध गराएको अश्वगन्ध चूर्ण, गुडुची चूर्णलगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि मात्र सेवन गराइएको थियो ।
सङ्क्रमितले आफू अस्पतालमा रहँदा तातोपानी र आयुर्वेदिक औषधि मात्रै सेवन गरेको बताए । “आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने रहेछ”, उनले भने । अस्पतालबाट घर फर्किएका युवकलाई लिन ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ अस्पताल पुगेका थिए। ती युवकलाई १५ दिनसम्म घरमै सुरक्षित रुपमा बस्न लगाइनेछ ।
यसैबीच जिल्लाको घिरिङ गाउँपालिकाका पाँच जनामा आजै कोरोना पुष्टि भएको छ । उनीहरुको सोही अस्पतालमा राखेर उपचार भइरहेको छ । यसअघि ऋषिङका दुई र घिरिङका एक पुरुषसमेत सोही अस्पतालमा उपचाररत छन् । एक जना निको भएर फर्किएपछि जिल्लामा कोरोना सङ्क्रमित आठ जना छन्। अस्पतालले सङ्क्रमितको उपचारमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी खटाएको छ । रासस