गोरखा– नेपालका दोस्रो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रुपमा विकास भएको छ । गोरखा नगरपालिकाको सहयोगमा भीमसेन उद्यान’ निर्माण गरेपछि आन्तरिक पर्यटक पीपलथोक पुग्न थालेका छन् ।


ADVERTISEMENT


विसं १८३२ मा थापाको जन्म पीपलथोकमा भएको थियो । पीपलथोकमा थापाको पूर्णकदको सालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्यस्थल बनाउने तयारी गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए । भीमसेन उद्यान नजिकै थापाकै पालामा बनेको जर्नेल धारा पनि रहेको छ ।


ADVERTISEMENT

# # #


ऐतिहासिक महत्व बोकेको पीपलथोकबाट मनास्लुलगायत हिमशृंखलाको अवलोकनका साथै पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोटको दृश्यावलोकन गर्न सकिन्छ । यस्तै भीमसेन उद्यान निर्माण गर्न स्थानीय बासिन्दा मकर गुरुङले दुई रोपनी क्षेत्रफलको जग्गा दान गरेका छन् । सोही जग्गामा एक रोपनी थपेर उद्यान निर्माण गरिएको हो ।

आव २०७२/७३ मा गोरखा नगरपालिकाअन्तर्गत वातावरणमैत्री स्थानीय शासन कार्यक्रमबाट उद्यान निर्माण गर्न रु पाँच लाख, आव २०७३/७४ मा जिल्ला वन कार्यालयले एक नगर एक उद्यान कार्यक्रमअन्तर्गत रु आठ लाख र गोरखा नगरपालिकाले रु तीन लाख बजेट लगानी गरी उद्यान निर्माण गरेका हुन् ।

उद्यानमा धुपीलगायत विभिन्न जातका बोटबिरुवा हुर्काइएको छ । फूलबारी बनाइएको छ भने आराम गर्न मिल्ने प्रतीक्षालयहरु बनाइएको गोरखा नगरपालिकाका वातावरणविद् ध्रुवप्रसाद घिमिरेले जानकारी दिए । वडाध्यक्ष खोपबहादुर अधिकारीका अनुसार भीमसेन उद्यान पुग्ने सडक स्तरोन्नतिका लागि यसवर्ष रु ३० लाख बजेट विनियोजन भएको छ ।

सदरमुकामबाट गोरखा दरबार हुँदै पीपलथोक पुग्ने सडक कच्ची हुँदा बर्खायाममा पर्यटक पुग्न कठिन छ । यसवर्ष सडक सुधार गरी बर्खामा पनि सवारी चल्न सक्ने बनाउने उनले बताए । भीमसेन उद्यान निर्माण समितिका अध्यक्ष मकर गुरुङले आन्तरिक पर्यटक उद्यानमा आए पनि विदेशी पर्यटक ल्याउन नसकिएको बताए ।

उद्यान आसपासका क्षेत्रमा होमस्टे निर्माण गर्ने, सडक स्तरोन्नति गर्ने र भीमसेन उद्यानको प्रचारप्रसार गर्न सक्ने हो भने पर्यटकीय केन्द्रका रुपमा पीपलथोक विश्वसामु चिनिने उनले बताए ।

गोरखा नगरपालिका प्रमुख पन्तले छेवेटारस्थित दरौँदी नदीमा ¥याफ्टिङ गर्न आउने पर्यटकलाई पश्चिमकाली, चिल्ड्रेन पार्क हुँदै पीपलथोकस्थित भीमसेन उद्यानसम्म ल्याउन सकेमा यस क्षेत्रका बासिन्दाको जीवनस्तर थप उकासिने बताए । छेवेटारदेखि पीपलथोकसम्म पदमार्ग र स्तरीय सडक निर्माण गर्न नगरपालिकाले अर्थ लगानी गर्ने उनको भनाइ छ । रासस