जितपुर, कपिलवस्तु– कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ ।


ADVERTISEMENT


नेपाली सेनाको नारायणदल गणको प्राविधिक र बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित यस उपचार केन्द्रमा भदौ दोस्रो साता आइपुग्दासमेत सर्पले डसेका बिरामीको चाप अझै उस्तै छ ।


ADVERTISEMENT

# # #


यस उपचार केन्द्रमा यही असारदेखि भदौ १४ गतेसम्म ४०० जना सर्पले डसेका बिरामीको उपचार गरिएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका सचिव नवीन भण्डारीले जानकारी दिए ।

जिल्लाका ३०१, दाङका १५, रोल्पाका २०, अर्घाखाँचीका ३५, प्युठानका १५, र रुपन्देहीका १४ जना सर्पले डसेका बिरामीको उपचार गरिएको सचिव भण्डारीले बताए।

अहिले पनि दैनिक १० भन्दा बढी बिरामी आउने गरेको यस उपचार केन्द्रमा असार महिनामा मात्र ११५ जना भन्दा बढी बिरामीको उपचार गरिएको थियो ।

समयमै उपचार नपाउँदा अहिलेसम्म दुईजनाको मृत्यु भएको छ । विषालु सर्पले डसेका बिरामीको संख्यामा भने कमी आएको बताइएको छ । अरु बिरामीको तुलनामा महिला बिरामी बढी आउने गरेको भण्डारीले जानकारी दिए ।

सर्पले डस्ने बित्तिकै झारफुक गर्ने, डसेको ठाउँमा बिलेटले चिर्नेलगायतका कार्य नगरी तुरुन्त अस्पताल आउन उनले आग्रह गरे।

दश वर्षअघि स्थापना भएको यो उपचार केन्द्रलाई जिल्लाकै उत्कृष्ट केन्द्रका रुपमा लिने गरिएको छ । रासस