काठमाडौँ – बर्दियाको गुलरिया नगरपालिकामा एक कोरोना सङ्क्रमित फेला परेपछि सीमा क्षेत्रको दक्षिण भेगको हुलाकी सडकमा उच्च सतर्कता अपनाइने भएको छ । नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवका अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ११, १२ सडक र वडा नं ६, ७ र ८ स्थित सडकको दक्षिण नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


वडा नं १२ स्थित हुलाकी सडक नाकामा मधेश क्षेत्र र भारततर्फबाट आउने व्यक्तिको आवतजावत बढी भएकाले सो निर्णय भएको नगरपालिकाका प्रमुख यादवले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उहाँले बन्दाबन्दीको उल्लंघन हुन नदिन वडाध्यक्ष राम नारायणको संयोजकत्वमा जनप्रतिनिधि, समाजसेवी र प्रहरी सहितको संयुक्त अनुगमन गस्ती टोली गठन भएको उल्लेख गर्दै नगरपालिकाका प्रत्येक टोलमा वडा सदस्य, टोल विकास संस्थाका अध्यक्ष र स्थानीय क्लब तथा आमा समूहका प्रतिनिधि रहेको तीन सदस्य अनुगमन समितिसमेत गठन भएको बताए ।

उक्त बैठकले नगरपालिकाभित्रका सामुदायिक वनभित्रमा अनाधकृत प्रवेशमा समेत रोक लगाउँदै दैनिक उपभोग्य वस्तुको बिक्रीवितरण गर्न बिहान ११ देखि २ बजेसम्म पसल खुला राख्ने निर्णय पनि गरेको छ । रासस