काठमाडौँ – नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु, रुपन्देही र बर्दियाका थप १३ जनामा कोरोना देखिएको हो ।


ADVERTISEMENT


संक्रमितहरुमा कपिलवस्तुका ६ जना, रुपन्देहीका ६ र बर्दियाका १ जना गरी जम्मा १२ पुरुष र एक महिला  रहेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका- ८ र बुद्धभूमि नगरपालिका-७ का का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुष छन् ।


ADVERTISEMENT

# # #


सोमबार बिहानमात्रै कपिलवस्तुमा १० जनामा संक्रमण पुष्टि भएको थियो । यी १० जना पनि बुद्धभूमि र यशोधराकै हुन् ।

यस्तै रुपन्देहीको समरीमाई गाउँपालिका-७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका- ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् भने बर्दिया राजापुर- निवासी ११ वर्षीया महिला छन् । स्वास्थ्य मन्त्रालयले सबैको स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

आज एकै दिन २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बिहान १० र दिउँसो एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । नेपालमा पहिलो पटक उच्च संख्यामा कोरोना संक्रमित देखिएका हुन् । यसअघि एकै दिन १६ जना कोरोना संक्रमित फेला परेका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ । जसमध्ये ३३ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।