काठमाडौँ — नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालमाथि राष्ट्रिय मानव अधिकार आयोगमा व्यक्ति हत्या र अपहरण तथा शरीर बन्धकसम्बन्धी तीन वटा कसुर छानबिनको घेरामा परेका छन् ।


ADVERTISEMENT


समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको वैशाख १० गते रातिको अपहरण प्रकरण, प्रतिबन्धित चन्द समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र ‘गुन्डा नाइके’ कुमार घैंटेको ‘नक्कली इन्काउन्टर’ सम्बन्धी घटनामा प्रहरीले अनुसन्धान गर्न नमानेपछि तीन वटै उजुरी आयोगको कसीमा पुगेको हो ।


ADVERTISEMENT

# # #


उजुरी लिएर प्रहरीमा पुगे पनि कसुर दर्ता नभएपछि पीडितहरू आयोगको शरणमा पुगेका हुन् । सांसद यादवले बिहीबार खनालसहित सत्तारूढ नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) विरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा उजुरी दिएका छन् ।

यसबाहेक आयोगमै कुमार पौडेलको २०७६ असार ५ मा सर्लाहीको लखन्ती र २०७२ भदौ २ मा कुमार घैंटेको सामाखुसीमा नक्कली इन्काउन्टर गरिएको प्रकरण आयोगमै विचाराधीन छ । पौडेलको हत्या प्रकरणमा पूर्वआईजीपी खनालका तीन जना घुमुवा कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय सत्यनारायण मिश्र र श्रीविनोद साहलाई आयोगले कर्तव्य ज्यान मुद्दामा कारबाही गर्न निर्देशन दिएको थियो ।