काठमाडौं – बंगलादेशले लाखौं रोहिङ्ग्या शरणार्थीका शिविर रहेको कोक्स बजार जिल्लालाई लकडाउन गरेको छ । रोहिङ्ग्या मुसलमान शरणार्थी शिविर क्षेत्रमा कोभिड–१९ को संक्रमण नफैलियोस् भनेर लकडाउनको घोषणा गरिएको कोक्स बजार जिल्लाका प्रमुख कमल होसेनले बताएका छन्।


ADVERTISEMENT


देशैभर संक्रमित संख्यामा वृद्धि हुन थालेपछि कमजोर पूर्वाधार र स्वास्थ्य प्रणाली भएको कोक्स बजार जिल्लालाई लकडाउन गरिएको उनले बताए । होसेनले विज्ञप्ति जारी गर्दै लकडाउन अवधिभर कसैलाई पनि कोक्स बजार भित्र जान र त्यहाँबाट बाहिर आउन नदिइने जनाएका छन् । ‘अबदेखि कोक्स बजारबाट बाहिर जान र त्यहाँभित्र जान पूर्ण रूपमा निषेध गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


प्रतिबन्ध उल्लंघन गर्नेमाथि कडा कारबाहीको चेतावनीसमेत दिइएको छ । शिविरमा सहायताकर्मीको आवतजावत पनि रोकिएको छ । बंगलादेशमा पछिल्लो पाँच दिनमा मात्र संक्रमितको संख्या दोब्बर भएर २ सयभन्दा बढी भएको छ भने हालसम्म २० जनाको ज्यान गइसकेको छ ।

म्यानमारमा सन् २०१७ को अगस्टमा भएको सैन्य हस्तक्षेपपछि लाखौं रोहिङ्ग्या छिमेकी बंगलादेशमा शरण लिन आइपुगेका थिए । उनीहरु कोक्स बजारस्थित शरणार्थी शिविरमा कष्टप्रद जीवन बिताइरहेका छन् । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय युएनएचसीआरका अनुसार सन् २०१७ पछि मात्र ७ लाख ५० हजारभन्दा बढी रोहिङ्ग्या बंगलादेशको कोक्स बजार पुगेका छन् ।

हालसम्म रोहिङ्ग्या शरणार्थी शिविरमा कसैलाई कोभिड–१९ संक्रमण पुष्टि नभए पनि स्वास्थ्य सेवा अत्यन्तै कमजोर रहेको उक्त क्षेत्रमा भाइरस देखिए त्यसले भयावहको अवस्था सिर्जना हुनसक्नेतर्फ सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।