काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने भएको छ ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान बसेको पार्टी स्थायी समिति बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


बैठकले आगामी मंसीर १० गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गर्दै त्यसलाई सफल पार्न पनि सिंगो पार्टीलाई परिचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिएको पार्टीका सचिव प्रदिप ज्ञवालीले जानकारी दिए। एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पनि पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गर्दै आएको छ ।

एमालेले निर्वाचनमा सहभागी हुन राष्ट्रिय जनता पार्टी, नेपाललाई पुनः आह्वान पनि गरेको छ । लोकतन्त्रको सुदृढिकरणका लागि पनि राष्ट्रिय जनता पार्टी, नेपाललाई निर्वाचनमा सहभागी हुन पुनः आह्वान गर्नुपरेको सचिव ज्ञवालीले स्पष्ट पारे ।

एमालेले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आगामी शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । दल दर्ताका लागि पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई अख्तियारी दिइएको सचिव ज्ञवालीले जानकारी दिए । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि आगामी आइतबारसम्म दल दर्ता गरि सक्न आह्वान गरेको छ ।