नयाँदिल्ली — कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भारतमा २१ दिनको लकडाउन पर्याप्त नहुने एउटा बेलायती अध्ययनले दाबी गरेको छ । अध्ययनले भारतको सामाजिक र जानसांख्यिक संरचनालाई हेर्दा संक्रमणलाई नियन्त्रणमा ल्याउन कम्तीमा पनि ४९ दिनको लकडाउन गर्नुपर्ने निष्कर्ष‍समेत निकालेको छ ।


ADVERTISEMENT


अध्ययनले यस्तो निष्कर्ष दिए पनि लकडाउन लम्बिने सम्भावनालाई भारतका क्याबिनेट सचिव राजीव गौबाले भने ठाडै नकारेका छन्। ‘यी खबरले म छक्क परेको छु, तत्काल लकडाउन लम्ब्याउने कुनै सम्भावना छैन,’ गौबालाई उद्धृत गर्दै प्रेस इन्फर्मेसन ब्यूरो अफ इण्डिया (पीआईबी)ले सोमबार ट्वीट गरेको छ।


ADVERTISEMENT

# # #


बेलायतको क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गतको डिपार्टमेन्ट अफ अप्लाइड एण्ड थियोरेटिकल फिजिक्सका दई अध्येता राजेश सिंह र रोनोजोय अधिकारीको संयुक्त अध्ययनले पछिल्लो निष्कर्ष निकालेको हो। उनीहरुले कोरोना संक्रमण रोक्न हाल लागू रहेको तीन साता लामो लकडाउनलाई केन्द्रमा राखेर गणितीय मोडलमा आधारित भएर अध्ययन गरेका थिए। र, त्यसैका आधारमा विभिन्न परिदृश्यहरु प्रक्षेपण गरिएका छन्। जसअनुसार पहिलो मोडलअन्तर्गत २१ दिने लकडाउनले संक्रमणको दर घटाए पनि पूर्ण रुपमा नियन्त्रण भने नहुने देखाएको छ। साथै केही समयपछि संक्रण फेरि ह्वात्तै उकालो लाग्ने पनि उनीहरुको प्रक्षेपण छ।

दोस्रो मोडलमा भने पहिलो २१ दिन लकडाउनपछि बीचमा पाँच दिन छाडेर फेरि २८ दिनको लकडाउन गरिन्छ। यो मोडलले महामारी पूर्ण नियन्त्रणमा आउने गरी संक्रमण नआउने परिदृश्यको आकलन गरेको छ। तेस्रो मोडलमा सुरुमा २१ दिन त्यसपछि पाँच दिन छाडेर फेरि २८ दिन र फेरि पाँच दिन छाडेर १८ दिन लकडाउन गरिन्छ। यो मोडलको प्रभावकारी कार्यान्वयन भएको खण्डमा संक्रमण विस्तारै कम हुँदै जाने र केही समयपछि पूर्ण रुपमा नियन्त्रणमा आउने बताइएको छ।

चौथो मोडलअन्तर्गत भने ४९ दिन लामो लकडाउन गरिन्छ। र, यसो गर्दा महामारी नियन्त्रणमा आउने अध्ययनले प्रक्षेपण गरेको छ। ४९ दिने लकडाउनले मृत्युदरमा पनि उल्लेख्य कमी आउने दाबी सिंह र अधिकारीको अध्ययनमा गरिएको छ। अध्ययनले समग्रमा भारतमा कोरोना महाव्याधीको प्रकोप रोक्न तीन हप्ता लामो लकडाउन पर्याप्त नहुने तर बीचमा केही समयको राहत दिएर फेरि लकडाउन गरिएको खण्डमा संक्रमणलाई कम गर्न सकिने बताएको छ। त्यस्तै क्रमशस् सामाजिक दूरी र क्वारेन्टाइनको सही रुपमा पालना भएमा पूर्ण रुपमा नियन्त्रणमा गर्न सकिने उक्त अध्ययनको निष्कर्ष रहेको छ।

अध्ययनका क्रममा भारत, चीन र इटालीको जनसांख्यिक संरचनालाई केलाइएको उल्लेख गरिएको छ। जसमा भारतको सामाजिक संरचना चीन र इटालीको भन्दा फरक रहेको हुँदा कारोना संक्रमण रोक्न विशिष्ट रणनीति बनाउनुपर्ने पनि सुझाइएको छ। त्यसैगरी चीन र इटालीको तुलनामा भारतमा तीन पुस्ताबीचको सघन सम्पर्क रहने सामाजिक यथार्थलाई संक्रमण फैलाउन प्रमुख जिम्मेवार बन्न सक्ने तर्क पनि अध्ययनमा गरिएको छ। ‘यी मुलुकहरुमा मानिस–मानिस बीचबाट संक्रमण सर्ने जोखिम उत्तिकै भए पनि उमेर समूह र सामाजिक सम्पर्कको भिन्नताले संक्रमणको फैलावटको स्वरुप फरक छ,’ अध्ययनमा भनिएको छ। साथै भारतमा मात्र करीब २ करोड मानिसको ज्यान लिएको सन् १९१८ को स्पेनिस फ्लुको महामारी कारण खोतल्ने क्रममा सामाजिक दूरीको दिगो र प्रभावकारी नहुँदा त्यति ठूलो मानवीय क्षति भएको निष्कर्ष निकालिएको छ।

अध्ययनमा प्रस्तुत गरिएका विभिन्‍न चार वटा मोडल

जनसंख्याको बनोट र उमेर समूहबीच हुने सामाजिक सम्पर्कमा आधारित भएर कोरोनाको संक्रमणको फैलावटको सम्भावना र त्यसको नियन्त्रणका लागि विभिन्न चारवटा गणितीय मोडल प्रस्तत गरिएको हो। यी मोडललाई क्षेत्रअनुसार पनि लागू गर्न सकिने पनि सुझाइएको छ। ती मोडलअनुसार विभिन्न चारवटा सम्भावित परिदृश्यको अनुमान गरिएको छ।

अध्ययनले युवाहरुलाई भाइरसका प्रमुख संवाहकको रुपमा हेरेको छ। र, सबैभन्दा बढी जोखिमा ६० देखि ६४ वर्षका मानिसहरुको रहेको बताइएको छ। अहिलेको परिस्थितिमा २१ दिनको लकडाउनबाट कोरोना महामारीमाथि नियन्त्रण पाउन पर्याप्त नभएको उनीहरुको निष्कर्ष छ। तर अध्ययनका केही सीमाहरु पनि रहेका छन्। लकडाउन र सामाजिक दूरी प्रभावकारी बनाउने उपायहरु फरकफरक हुनसक्ने भएकाले यो अध्ययनलाई सबै ठाउँका लागि अनुकूल नहुन सक्ने स्वीकार गरिएको छ।

भारत सरकारले कोरोनाको सक्रंमण बढ्दै गएपछि गत २४ मार्चदेखि तीन साता लामो देशव्यापी लकडाउन घोषणा गरेको हो। सोमबार साँझसम्म भारतमा १०७१ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

स्रोत  : इकान्तिपुर