– गोविन्द ढकाल

अहिले कोरोना भाइरस (कोभिड १९) संसारभरि फैलिसकेको छ । कतिपय देशहरुमा यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पनि देखिसकेको छ ।


ADVERTISEMENT


सौभाग्य नै भन्नुपर्छ, अहिलेसम्म यसले नेपालमा आक्रमण गर्न सकेको छैन । जुन सकारात्मक कुरा हो । तर, हामी यसबाट ढुक्क हुने अवस्थामा छैनौँ । कुनैपनि दिनमा हामी कोरोनाबाट संक्रमित हुन सक्छौं भनेर अहिले सरकारले विभिन्न किसिमका निर्देशन र व्यवस्थापनहरु गरेको छ । हामी नागरिकहरुले पनि यस्तो बेलामा सरकारलाई सहयोग गर्नु उचित हुन्छ ।


ADVERTISEMENT

# # #


कोरोना भाइरसको अर्थतन्त्रमा प्रभाव अहिले नदेखिएपनि यसको ५–६ महिनापछि ठूलो देखिने मैँले महसुस गरेको छु । हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिटेन्स हो । अब त्यो ठप्प हुने अवस्थामा छ । हाम्रा सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई उडानहरु रद्द भइसकेका छन् । पछिल्लो समय दैनिक ५–६ सय मानिस विदेश जाने क्रम थियो । त्यो पनि रोकिएको अवस्था छ ।

अर्कोतिर अहिले पर्यटकको आवगमन शून्यप्राय छ । त्यसको प्रभाव अहिले होटेलमा परेको छ । अधिकांश होटेलहरु ग्राहक नभएको र कोरोनाको त्रासका कारण बन्द हुने अवस्थामा छन् । होटेलमा प्रभाव पर्नेबित्तिकै यसले किसानलाई समेत प्रभावित पार्छ । होटेल बन्द भए भने मासुजन्य उत्पादनहरु, तरकारी, फलफूल खाद्यान्न बिक्रि हुन छाड्छ । यता ट्राभल एजेन्सीहरुको अवस्था पनि उस्तै हुन्छ । त्यसको प्रत्यक्ष प्रभाव देशको अर्थतन्त्र र बैँक तथा वित्तीय संस्थाहरुमा पर्छ । जसले गर्दा बैँकका कर्जा असुलीदेखि कर्जा लगानीसम्म प्रभावित हुन्छ ।

कोरोना भाईरसको असरका बारेमा लिएर हामीले नेपाल राष्ट्र बैँकसँग मिलेर भोलिका दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराबारे सोच्दै सचेत रहनका लागि छलफल प्रक्रिया अगाडि बढाएका छौँ । यस्तै कोरोना भाइरसबाट बच्नका लागि बैँकमा आउने ग्राहक र कर्मचारी साथीहरुलाई सजकता अपनाउन आग्रह गरिरहेका छौँ । त्यसका लागि आवश्यक कुराहरु पनि हामीले सुरु गरिसकेका छौँ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भारतमा पछिल्लो समय निकै बढेको समाचार आइरहेका छन् । भारतसँग हाम्रा खुला सिमान भएका कारणले यसले नेपाललाई पनि उत्तिकै असर पार्न सक्छ । त्यसका लागि हामीले सजक रहन अपरिहार्य छ । सरकारले पनि यो कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ र लिएको छ । यदि कोरोना आइहाल्यो भने पनि भोलिका दिनमा कसरी सामना गर्ने भन्नेबारे हाम्रो पूर्व तयारी आवश्यक छ । त्यसका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्ति तयार गर्नुपर्छ ।

यसले बैँक तथा वित्तीय संस्थामा तत्काल अर्थात् आजको आजै प्रभाव पार्ने देखिन्न । तर, यो आर्थिक वर्षभित्र बैँक तथा वित्तीय संस्थाको क्रियाकलाप, लगानी, असुली र आम्दानी लगायतका प्रत्येक कुरामा हामी प्रभावित हुन्छौँ ।

यी विषयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैँकको नीति, निर्देशन र भूमिका महत्वपूर्ण रहेको छ ।

(ढकाल विकास बैँकर्स एशोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् ।)