काठमाडौँ – भक्तपुरका प्रजिअ हुमकला पाण्डेले कोरोना भाइरसको बहानामा कालोबजारी गरेको पाइए व्यापारीलाई थुनिदिने चेतावनी दिएकी छन् ।


ADVERTISEMENT


भक्तपुर उद्योग वाणिज्य सङ्घले आज यहाँ व्यापारीहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले केही दिनअघि मात्रै भक्तपुरको सूर्यविनायकमा ग्यासको मूल्य महँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थुनेर कारवाही गरेको बताइन् ।


ADVERTISEMENT

# # #


प्रजिअ पाण्डेले भनिन्, “कोरोनाको बहाना बनाएर सामान लुकाउने र बढी मूल्य लिने जो कोहीलाई हामी छाड्दैनौँ, त्यस्तो भेट्ने बित्तिकै थुनेर कारवाही गर्छौं, जहाँसुकैबाट दबाब आए पनि छाड्दैनौँ ।” अहिले कोरोनाका कारण बजारमा देखिएको अभाव, कालोबजारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले कालोबजारी गरेको र सामान लुकाएको कतै थाहा पाइए खबर गर्नसमेत सबैमा आग्रह गरिन् ।

सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले व्यापारीले सङ्कटको बेलामा आफ्नो नैतिकतालाई ध्यानमा राख्नुपर्नेमा जोड दिँदै बजार सन्तुलित पार्न सहयोग गर्नुपर्ने बताए । अन्तरक्रियामा सहभागी व्यापारीले भने बजारमा सामान अभाव हुने हल्लाले उपभोक्ताले चाहिनेभन्दा बढी सामान लैजाँदा अभाव भएको बताए ।

कोरोनाकै कारण चीन र भारतबाट आउनुपर्ने सामानहरु नआएर रोकिएको र उपभोक्ताले आवश्यकताभन्दा बढी सामान लगेर राख्दा बजारमा सामान अभाव भएको उनीहरुले बताएका छन् । रासस