लन्डन — बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको ज्यान गएको छ । ३२१ जना संक्रमित भएको बेलायती अखबारहरुले जनाएका छन् । हालसम्म २४ हजार ९ सय ६० जनाले कोरोनाको आशंकामा स्वास्थ्य परीक्षण गराएका छन् ।


ADVERTISEMENT


ब्रिटिस अधिकारीहरुले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासस्वरुप श्वासप्रश्वाससम्बन्धी संक्रमणको सामान्य लक्षण भएका वा ज्वरो आएका मानिसलाई छिट्टै अलग्गै बस्न भनिने जनाएका छन्।


ADVERTISEMENT

# # #


बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिस व्हिटीले सामान्य लक्षण देखिएका मानिसहरुलाई ७ दिनसम्म एक्लै बस्न भनिने जनाए। उनले सरकारले आउँदो १० देखि १४ दिनभित्र त्यस्तो निर्देशन दिन सक्ने पनि जनाए।

आपत्कालीन कोब्रा बैठकपछि सोमबार एउटा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री बोरिस जोनसनले बूढाबूढी र जोखिममा रहेका मानिसहरुलाई आफ्नो घरमै बस्न भन्न सकिने जनाएका छन्। उनले सरकारले सही समयमा सही निर्णय लिनुपर्ने पनि औंल्याए।

बेलायतका रोजगारी तथा पेन्सन मन्त्रीले कोरोना भाइरसका कारण अलग्गिएर बस्ने व्यक्तिको सरकारले दिने भत्ता सुविधा ९युनिभर्सल क्रेडिट० यथावत रहने बताएका छन्।

यही भाइरसका कारण विश्व सेयर बजारमा सन् २००८ को आर्थिक मन्दीपछिको सबैभन्दा ठूलो गिरावट भएको छ। ब्ल्याक मन्डे भनेर नामाकरण भएको सोमबार लन्डनको ठूला १०० कम्पनी फुट्सी करिब आठ प्रतिशतले सूचांक झरेको छ। यसको अर्थ बेलायतका ठूला सय कम्पनीको मात्रै करिब १२५ अर्ब पाउण्ड बराबरीको सेयर मूल्यमा नोक्सानी भएको छ। अमेरिकाको स्टक मार्केट खुलेको १५ मिनेटमै सेयर बजारको भारी गिरावटले सेयर बिक्री गर्नबाट बन्द गरिएको छ।

सरकारले अत्यावश्यक सामग्री डेलिभरी गर्न अस्थायी रुपमा समय बढाउने घोषणा गरेको छ। सरकारले खाद्य वा अन्य सामग्री थुपार्न आवश्यक नरहेको बताए पनि ग्राहकले ट्वाइलेट रोल, साबुन, ड्राइ पास्ता, दूध, एन्टी ब्याकटेरियल जेल, वाइप्स् जस्ता सामग्री बढी खरिद गर्न थालेपछि सुपरस्टोरहरुमा सामान अभाव देखिन थालेको छ।टेस्को, वेटरोज, बुट्स, आस्डा जस्ता स्टोरहरुले सामान खरिद गर्दा सीमित संख्यामा मात्र किन्न पाइने नियम लागू गरेका छन्।