रामचन्द्र पाण्डे, काठमाडौँ – गत फेब्रुअरी ५ देखि नेपालमा सुरु भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज शनिबार सम्पन्न भएको छ ।


ADVERTISEMENT


नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिजमा ओमानले शतप्रतिशत नजिता निकाल्यो । यता घरेलू मैदानमा उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको नेपालको प्रदर्शन भने औशत रह्यो । चार खेलमध्ये नेपालले दुई खेलमा जित हात पार्‍यो । अमेरिकासँगका दुबै खेल जितेको नेपालले ओमानविरुद्ध भने दुबै खेलमा हार ब्यहोर्‍यो । अमेरिका  भने चारवटै खेलमा पराजित भयो ।


ADVERTISEMENT

# # #


सन् २०१८ मा पहिलो पटक ऐतिहासिक एकदिवसीय मान्यता पाएको नेपालले दुई वर्षपछि पहिलो पटक घरेलू मैदानमा एकदिवसीय सिरिज खेल्यो । यस्तै नेपालको एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदान त्रिवि क्रिकेट मैदानले पनि यही सिरिजबाट एकदिवसीय मैदानको मान्यता पाएको छ । सन् २०२३ मा भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपको रोडम्यापको रुपमा रहेको लिग २ को यात्रा नेपालले घरेलू मैदानबाटै सुरु गरेको छ ।

यो सिरिजमा नेपालको औसत प्रदर्शन भएपनि नेपाल र नेपाली खेलाडीका नाममा भने केही रेकर्ड रहे । नेपालका लागि शरद भेषावकर, कप्तान ज्ञानेन्द्र मल्ल, कुशल मल्ल र विनोद भण्डारीले घरेलू मैदानमा पहिलो एकदिवसीय अर्धशतक हाने । यस्तै सन्दीप लामिछाने सुसन भारी र करण केसीले बलिङमा उत्कृष्ट प्रदर्शन गरे । जसका कारण पहिलो पटक घरेलू मैदानमा भएको एक दिवसीय सिरिज नेपालका लागि केही हदसम्म सम्झन लायक बनेको छ ।

लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नेपालले गरेका ५ रेकर्ड यहाँ प्रस्तुत गरिएको छ :

 १. एक दिवसीयमा अर्धशतक हान्ने कान्छा खेलाडी

नेपालले लिग २ मा पहिलो कीर्तिमान कुशल मल्लका नामबाट बनायो । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एकदिवसीय (ओडीआई)मा डेब्यू गरेका कुशल मल्लले अमेरिकाविरुद्ध ४९ बलमा ३ छक्का र ४ चौकाको मदतमा ५० रन पूरा गर्दै कीर्तिमान बनाए । उनले नेपाली ब्याट्सम्यान रोहित पौडेलको रेकर्ड तोड्दै एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने विश्वकै सबैभन्दा कान्छा खेलाडी बने । १५ वर्ष ३४० दिनमा नै एकदिवसीय अर्धशतक प्रहार गरे ।

यसअघि रोहित पौडेलले क्रिकेट दुनियाँका हस्ती सचिन तेन्दुल्कर र शाहिद अफ्रिदीको रेकर्ड तोड्दै १६ वर्ष १४६ दिनमा यो उपलब्धी हासिल गरेका थिए । तर, कुशलले रोहितकै रेकर्ड तोडे ।

२. विपक्षीलाई ३५ रनमै अलआउट

सिरिजको अन्तिम दिन (बुधबार) अमेरिकाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमान कायम गरेको छ । अमेरिका ३५ रनमै अलआउट भएपछि नेपालले एकदिवसीय खेलमा विपक्षी टिमलाई सबैभन्दा कम स्कोरमा समेट्ने कीर्तिमान बनाएको हो ।

अमेरिकाको यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । यसअघि सन् २००४ मा श्रीलंकाले जिम्बाब्वेलाई १८ ओभरमा ३५ रन नै बनाउँदा अल आउट गरेको थियो । नेपालले १६ वर्षपछि उक्त कीर्तिमान बराबरी गरेको हो ।

यस्तै सन् २००३ मा क्यानडा श्रीलंकाविरुद्ध ३६ रनमा अलआउट भएको थियो । श्रीलंकाले नै जिम्बाब्वेलाई २००१ मा ३८ रनमा अलआउट पारेको थियो भने २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका आफै ४३ रनमा अलआउट भएको थियो ।

३. चुनौति पच्छ्याउँदा २६८ बल बाँकी छँदै जित

नेपालले सिरिजको अन्तिम दिन (बुधबार) अमेरिकाविरुद्ध २६८ बल बाँकी छँदै जित हासिल गर्‍यो । यो एकदिवसीय क्रिकेटमा धेरै बल बाँकी छँदै जितेको चौथो ठूलो जित हो । यसअघि सन् १९७९ मा इंग्ल्याण्डले क्यानडाविरुद्ध २७७ बल बाँकी छँदै जित हात पारेको थियो । ४०.३ ओभरका ४५ रन बनाएपछि ४६ रनको चुनौति इंग्ल्याण्डले २ विकेट गुमाएर १३.५ ओभरमै पूरा गरेको थियो ।

यस्तै २००१ मा १५.४ ओभरमा ३८ रनमा अलआउट हुँदा श्रीलंकाले ४.२ ओभरमा एक विकेट गुमाएर २७४ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । यस्तै सन् २००३ मा श्रीलंकाले नै क्यानडालाई १८.४ ओभरमा ३६ रनमा अलआउट गर्दा १३.५ ओभरमा २ विकेट गुमाएर २७२ बल बाँकी छँदै जित हात पारेको थियो ।

४. एकदिवसीयमा सन्दीपको पहिलो र नेपालको दोस्रो पाँच विकेट हल

स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा व्यक्तिगत पहिलो पटक एकै खेलमा पाँच लिएका छन् । सिरिजको अन्तिम दिन (बुधबार) सन्दीपले अमेरिकाविरुद्ध ६ ओभरमा एक मेडेन राख्दै १६ रन खर्चिएर ६ विकेट लिए । यसअघि उनले सन् २०१८ मा भएको एशियाकप छनोटमा युएईविरुद्ध १० ओभरमा दुई मेडेन राख्दै २४ रन खर्चिएर ४ विकेट लिएका थिए ।

सन्दीपको पहिलो भए पनि नेपालका लागि भने यो दोस्रो पाँच विकेट हल हो । यसअघि नेपालका लागि एकदिवसीयमा पहिलो पाँच विकेट हलको कीर्तिमान तीव्र गतिका बलर सोमपाल कामीका नाममा रहेको छ । उनले अघिल्लो वर्ष युएईविरुद्ध उसकै घरेलू मैदानमा ६.३ ओभरमा ३३ रन खर्चिएर ५ विकेट लिएका थिए ।

५. एकै खेलमा सर्वाधिक विकेट

सन्दीपको अमेरिकाविरुद्धको प्रदर्शन नेपाली बलरले एकदिवसीय क्रिकेटमा गरेको सबैभन्दा उत्कृष्ट बलिङ हो । नेपालले खेलेका १० एकदिवसीयमा कुनैपनि नेपाली बलरले यसअघि एकै खेलमा ६ विकेट लिएका थिएनन् ।

यस्तै उनी ओडीआईमा ६ विकेट लिने एसोसिएट राष्ट्रका दोस्रो खेलाडी बनेका छन् । पहिलो नम्बरमा अफगानिस्तारनका स्पीनर रसिद खान छन् । रसिदले सन् २०१७ जुनमा वेष्ट इन्डिजविरुद्ध ओडीआईमा ८.४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ७ विकेट लिएका थिए ।

सन्दीपको यो बलिङ एकदिवसीयमा विश्वकै २२ औँ उत्कृष्ट  हो ।

तस्बिर : नेपाल क्रिकेट संघ