युरोपेली आयोगले सार्वजनिक स्थानमा ‘फेसियल रिकग्निसनु भनिने अनुहार चिनिने प्रविधिलाई पाँच वर्षसम्म प्रतिबन्ध लगाउने जनाएको छ।उक्त प्रविधिको दुरुपयोगलाई नियन्त्रण गर्नुपर्ने निष्कर्षमा पुगेको बताउँदै आयोगले प्रतिबन्ध लगाउने जनाएको हो । सुरक्षासँग सम्बन्धित परियोजना तथा अनुसन्धान र विकासमा भने रोक नलगाइन सक्ने बताइएको छ।
आयोगले १८ पृष्ठ लामो प्रतिवेदनमा उक्त योजनाबारे उल्लेख गरेको छ, जसमा गोपनीयता तथा डेटा सम्बन्धी विद्यमान कानुनी प्रावधानलाई थप बलियो बनाइने उल्लेख गरिएको छ।
प्रतिवेदनले प्रविधि विकास गर्नेहरू र आर्टीफिशल इन्टेलिजेन्स (एआई) प्रयोगकर्तालाई दायित्व सृजना गर्ने र युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूलाई नयाँ नियमको अनुगमन गर्ने निकाय स्थापना गर्न आग्रह गर्ने प्रस्ताव गरेको छ।
तीनदेखि पाँच वर्षसम्म कायम रहन सक्ने बताइएको उक्त प्रतिबन्ध लागु भएको समयमा, यो प्रविधिको प्रभाव र सम्भावित जोखिमको व्यवस्थापन गर्ने उपायहरू पहिचान गर्नुका साथै विकास गर्न सकिने त्यसमा उल्लेख छ।