काठमाडौं –
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागले कार्यान्वयनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सम्बन्धि दुईदिने तालिम वैदेशिक रोजगार व्यवसायीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको बताएको छ । संघले विभागसँगको सहकार्यमा आइतबार र सोमबार व्यवसायी तथा उनीहरुका एकरएक जना कर्मचारीहरुलाई सहभागी गराई विभिन्न चार समुहमा विभागको सूचना प्रणाली बारे तालिम दिएको हो ।


ADVERTISEMENT


वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार हाल ८ सय ५३ वटा वैदेशिक रोजगार कम्पनी कार्यरत रहेका छन् । तालिममा सञ्चालक र कर्मचारी गरी १ हजार ३ सय जना सहभागी भएको जानकारी दिँदै संघका अध्यक्ष विष्णुप्रसाद गैरेले व्यवसायीहरु विभागको वैदेशिक रोजगार सूचना प्रणालीको प्रयोगप्रति अत्यन्तै गम्भीर र संवेदनशील देखिएको बताउनुभयो । तालिमको आइतबार वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भूसालले उद्घाटन गर्नुभएको थियो ।


ADVERTISEMENT

# # #


विभागले यसै महिनाको १६ गतेदेखि पूर्ण रुपमा सो प्रणाली लागू गरेको हो । तालिममा सहभागी केही व्यवसायीहरुले पूर्व स्वीकृति भएको १५ दिन भित्र कामदार छनोट गर्नुपर्ने र पटक पटक विज्ञापन गर्नुपर्ने प्रणालीको व्यवस्था झन्झटिलो रहेको प्रतिक्रिया दिएका थिए । कतिपय व्यवसायीहरुले विभागले ल्याएको प्रणालीले विदेशस्थित रोजगारदाताहरुलाई समेट्न नसेकको कारण त्यसले अपेक्षित परिणाम दिन नसक्ने टिप्पणी गरेका छन् । प्रणाली राम्रो भएपनि रोजगादाताले डिमाण्ड अनलाईन प्रणालीमा हाल्न नपाए प्रणालीले हालको समस्या समाधान गर्न नसक्ने उनीहरुको टिप्पणी छ ।

सूचना व्यवस्थापन प्रणालीले श्रम स्वीकृतिका लागि व्यवसायीलाई फाईल बोकेर वैदेशिक रोजगार कार्यालय ताहाचल धाउनुपर्ने अवस्थाको अन्त्य र विदेशस्थित नेपाली नियोगबाट प्रमाणीकरण भएको मागपत्र व्यवसायीको इमेल सहित विभागको वैदेशिक रोजगार कार्यालय ताहाचलमा आउनु भने प्रणालीको राम्रो पक्ष भएको अधिकांश व्यवसायीहरुको भनाइ छ ।