काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले रामचन्द्र पौडेल समूहले बोलाएको आफू पक्षधर जिल्ला सभापतिहरुको भेलालाई अवैधानिकको संज्ञा दिएका छन् ।


ADVERTISEMENT


सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै विश्वकर्माले पौडेल समूहले सभापतिलाई विधिसंगत ढंगबाट अघि बढेन भनेर आरोप लगाइरहँदा आफ्नै क्रियाकलाप पनि विधान विपरित बिर्सिएका बताए ।


ADVERTISEMENT

# # #


‘कुनैपनि केन्द्रिय कार्यसमितिका ८५ सदस्य र पदाधिकारीमध्ये एक जनाले कुनै औपचारिक कार्यक्रम गर्नको लागि केन्द्रीय कार्यसमितिको स्विकृति लिनुपर्ने हुन्छ ।’ उनले भने, ‘उहाँहरुले जसरी औपचारिक बैठक बस्नको लागि केन्द्रिय कार्यसमितिले औपचारिक निर्णय गरेको छैन् । जिल्ला सभापतिहरुको बारेमा विधानले विधानतः कुनै पनि संगठन मान्दैन् ।’

पौडेल समूहले बोलाउँदा उनीहरुकै समहुका अधिकांश सभापतिहरुले पार्टीलाई जुटाउनेभन्दा फुटाउनेतर्फ प्रेरित गरेकोले आफूहरु आउन नसक्ने भनेर जवाफ दिएको पनि आफूहरुको जानकारीमा आएको उनले स्पष्ट पारे ।

पौडेल समूहले आफूहरुको अनुपस्थितिमा किन निर्णय गरियो भनेर भनेको कुरामा पनि उनले खण्डन गरे । केन्द्रिय समितिको बैठकमा पौडेल समूहका सबै प्रस्तावमा सहमति जनाउँदा पनि बनेक बखेडा झिकेको उनले बताए । उनले पार्टीलाई कमजोर पार्ने काम कसैबाट पनि गर्न नहुने धारणा राखे ।

उनले अहिलेको जिल्ला सभापतिहरुको भेला महाधिवेशनलाई लक्षित गरेर सभापतिको बलियो उम्मेदवार शेरबहादुर देउवालाई विभिन्न लाञ्छना लगाएर कमजोर बनाउने रणनीतिबाहेक अरु केही पनि नभएको जिकिर गरे ।

उनले सामान्य विषयमा जिल्ला सभापतिहरुलाई पुषको जाडोमा बोलाएर दुःख दिनु राम्रो नभएको भन्दै पौडेल समूहको आलोचना गरे । सामान्य चित्त दुखाईका कुराहरुमा पनि जिल्ला सभापतिलाई काठमाडौँ बोलाउनु लामखुट्टेका लागि ए.के. ४७ प्रयोग गर्नुजस्तै भएको बताए ।

उनले पौडेल समूहको चित्त दुखाई निर्देशित भएकोले सभापति देउवाले चित्त बुझाउन समय लागेको पनि तर्क गरे ।

उनले प्रतिनिधिसभाको सभामुखको चयन जतिसक्दो चाँडो गर्नपनि आग्रह गरेका छन् । उनले भने,‘नियतवश यस्तो रिक्तता रहन गएको होईन् । दुर्भाग्यवश, दुर्घटना भयो ।’ उनले सत्तापक्षको आपसी मतभेद र आपसी मतभेदको कारण सिंगो संसदलाई अनिर्णयको बन्दी नबनाउन पनि चेतावनी दिए ।