आज पनि भन्ने गरिन्छ, “कर्णाली घुमे सिङ्गो नेपाल घुमिन्छ । नेपाल पढ्न कर्णाली एक पटक जानैपर्छ । कर्णाली बुझ्नेहरुसँग मात्र यो देशको राष्ट्रियता झल्किन्छ ।” तथापि कर्णालीमा यस देशका थोरै मानिस मात्र पुगेका छन् । देशका पूर्वी, मध्य पहाडी तथा सुदूपश्चिमी भेगमा नागरिकको ओहोरदोहोर निर्बाध देखिए पनि कर्णालीमा मौसमी भ्रमण चल्ने गर्छ ।


ADVERTISEMENT


विसं २०६८ को जनगणनानुसार नेपालको कूल क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा दुई करोड ६४ लाख ९४ हजार ५०४ जनसङ्ख्या छ । कूल जनसङ्ख्याको ६.१ प्रतिशत मात्र मानिस कर्णालीमा बसोबास गर्छन् । थोरैले बसोबास गर्ने भए पनि देशको कूल क्षेत्रफलको करीब २२ प्रतिशत भूभाग कर्णालीले नै ओगटेको छ । यहाँको जनघनत्व प्रतिवर्गमिटर ५१ जना मात्र छ । हाल यस प्रदेशमा तीन लाख नौ हजार ३७६ घरपरिवार छन ।


ADVERTISEMENT

# # #


शिक्षा, स्वास्थ्य र रोजगारीका हिसाबले पछि परे पनि भौगोलिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक हिसाबले कर्णाली प्रचुर पर्यटकीय सम्भावना भएको प्रदेश हो । यहाँ सार्वजनिक नभएका पर्यटकीय स्थल सयौंँ छन् । पर्यटन क्षेत्र प्रदेशको आर्थिक समृद्धिको आधार भएको भन्दै प्रदेश सरकारले प्रवद्र्धनको आधार खडा गर्ने योजना अघि सारेको छ । सोहीबमोजिम कर्णाली सरकारले ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राससलाई जानकारी दिए । “कर्णालीमा स्तरीय सडक, होटेल, सञ्चार, विद्युतु जस्ता पूर्वाधार छैनन्”, मन्त्री बुढाले भने, “पर्यटक भित्र्याउन तत्काल हामी सङ्घीय सरकारसँगको समन्वयमा कर्णाली एयरलायन्स सञ्चालन गर्ने पहलमा छौंँ ।”

सरकार आवश्यक संरचना तयार गरी निजी क्षेत्र सक्रिय बनाउन लागि परेको भन्दै उहाँले पोखरा–डोल्पा, धनगढी–सुर्खेत, भैरहवा–सुर्खेत यातायात जोड्ने पहल भइरहेको बताए । यसले पनि कर्णाली भ्रमणमा आउने पर्यटकलाई आवतजावत सहज हुने उनको भनाइ थियो । उनले भने, “हाल कर्णालीमा धार्मिक तथा मनोरञ्जन लिन पर्यटक आउने गरेका छन् । प्रदेश सरकारले बनाएको पञ्चवर्षीय कार्ययोजना र दशवर्षीय रणनीतिक योजनासहितको गुरुयोजना कार्यान्वयनले आशा गरौंँ, अब सबै रुचिका पर्यटकहरुको रोजाइका लागि कर्णाली मुलुकको प्रमुख पर्यटकीय गन्तव्य बन्नेछ ।”

उनका अनुसार पर्यटन गुरुयोजनाबमोजिम सङ्घीय सरकारको छनोटमा १३, प्रदेशअन्तर्गत नौ र स्थानीय तहमा ७९ गरी कर्णालीमा हाल १०१ पर्यटकीयस्थल सार्वजनिक गरिएको छ । तिनै स्थलमा पाहुना पुर्याउन स्पष्ट खाका गुरुयोजना बनाइएको छ ।

पर्यटकीयस्थल

सङ्घीय सरकारले घोषणा गरेको गन्तव्यस्थलमा हुम्लाको लिमी उपत्यका, डोल्पाका शे–फोक्सुण्डो र त्रिपुरासुन्दरी मन्दिर, मुगुको राराताल, जुम्लाका सिंजा उपत्यका र डुडुल चैत्य र कालीकोटको पचाल झरना छन् । त्यस्तै जाजरकोटको खलङ्गा दरबार, दैलेखको कोतगढी, पञ्चदेवल, बेलासपुर, महावु क्षेत्र, रुकुम पश्चिमको चित्रे पाटन, सल्यानको कुपिण्ड दह, सुर्खेतको काँक्रेविहार र देउती बज्यै मन्दिरलाई समेत सङ्घीय सरकारले नै छनोट गरेको हो ।

प्रदेशअन्तरगत प्रदेशभरिको भेरी/कर्णाली जलयात्रा, हिमालयन ग्रेट ट्रेल, हिमाल आरोहण, हुम्लाको मानसरोवर रुट, बारदेव पर्यटकीय क्षेत्र र सिमकोट शिवमन्दिर, डोल्पाको शे–गुम्बा र तिन्जे उपत्यका, सुर्खेत–दैलेखमा पर्ने गुराँस क्षेत्र छनोटमा परेका छन् । दश जिल्लाका प्रतिस्थानीय तह एक पर्यटकीयस्थल पहिचान गरेबमोजिम यहाँ ७९ स्थानीय तहमा ७९ पर्यटकीयस्थल छन् ।

पर्यटक आकर्षणका आधार

कर्णाली प्राङ्गारिक उत्पादनको प्रमुख क्षेत्र हो । समग्र क्षेत्रको अध्ययन तथा अनुसन्धान केन्द्र हो । भौगोलिक तथा प्राकृतिकरुपले उत्कृष्ट भूमि हो । धार्मिक तथा साँस्कृतिक सम्पदायुक्त स्थल हो । यहाँ सबैखालका पर्यटकीय आकर्षणका क्षेत्रको आधार कर्णाली प्रदेश सरकारले तयार गरिरहेको छ ।

मुलुकका अन्य ठाउँमा नपाइने चिज कर्णालीमा पाइने भएकाले पर्यटकका लागि यो आकर्षणको मुख्य आधार भएको कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले जानकारी दिए । यार्सासहित विभिन्न बहुमूल्य जडिबुटी, कालीमार्सी धान, कोदो, चिनो, कागुनो, फापरलगायत खाद्यबालीले पनि पर्यटकलाई आकर्षण गरेको उनले बताए ।

“पर्यटनसँग सम्बन्धित प्रदेश पहिचानको प्रतीकचिह्न पर्यटकीय भूमि बुलबुलेबाटै भ्रमण वर्ष २०२० को शुभारम्भ, पर्यटकको रुचिअनुसारको बजार व्यवस्थापनको तयारी पर्यटक आकर्षणका अल्पकालीन आधार हुन्”, सचिव डा. आचार्यले भने, “दीर्घकालीन आकर्षणका आधारका रुपमा प्रदेश सरकारले पर्यटन गुरुयोजना निर्माण गरेको छ ।” यसले पर्यटकको रोजाइ पूरा गरी उनीहरुको बसाइ लम्ब्याउन सहयोग पुग्ने उनको भनाइ छ ।

जैविक खाना, संसारको पाँचौँ उत्कृष्ट नदी कर्णाली र भेरी नदी जलयात्रा, काञ्जिरोवा, पातारासी, सिस्नेलगायत हिमालको आरोहण, निर्माणाधीन सिंजा खस सङ्ग्रहालयको अध्ययन एवं अनुसन्धान, दैलेख पञ्चकोशी ज्वाला क्षेत्रको उत्खनन आदि पनि पर्यटक आकर्षणका आधार रहेको सचिव आचार्यले बताए ।

किन घुम्ने ?

कर्णालीलाई दुर्गमको संज्ञा दिइन्छ । कर्णालीबाट काठमाडौंँ पनि दुर्गम रहेको होटल तथा पर्यटन व्यवसायी नुर्वु लामा बताउनुहुन्छ । कतिपयले कर्णालीमा मान्छे बस्छन् र भनेर पनि प्रश्न गरेको पनि पाइन्छ । यी प्रश्नको उत्तर पाउन हरेकले एक पटक कर्णाली घुम्न आउनै पर्ने उहाँको भनाइ छ ।

स्थानीयवासी मनोज बुढाथोकी मगरले काठमाडौँमा कर्णाली सुनेका आधारमा भय पाल्ने मनस्थिति विद्यमान रहेको बताए । उनले भने, “कर्णाली सबै खाले पर्यटकीय गन्तव्य हो । पर्यटकीय मनोरञ्जन लिन र कर्णाली बुझ्न कर्णाली जानैपर्छ ।”

पर्यटनसम्बन्धी जानकार हरिहर न्यौपाने भने, “कर्णालीको वास्तविक धरातलीय यथार्थलाई गहिराइबाट नियाल्न र त्यसलाई वस्तुनिष्ठ ढङ्गले व्याख्या गर्न कर्णाली घुम्नैपर्छ । कर्णाली भाषा, साहित्य, कला, संस्कृति र सभ्यताको उद्गमस्थल हो । सर्वमान्य देवभूमि हो । प्रकृतिको अनुपम भूगोल हो । स्रष्टा एवं सर्जक निर्माणको उत्तम अवसर र प्राप्तिको थलो हो ।”

कर्णाली नयाँ खोज तथा अनुसन्धान गर्नेहरुका लागि प्रचुर सम्भाव्य स्रोत भएको तथा साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य भएको बताउँदै उहाँले यहाँका सबैखाले पर्यटकीयस्थलको अवलोकन तथा तिनको खोज, अध्ययन, अनुसन्धान, अन्वेषण गरी यथेष्ट अवसर लिन सकिने सौभाग्य कर्णालीले प्रदान गर्ने विश्वास दिलाए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रदेशका १० जिल्लामा अवस्थित पर्यटकीय क्षेत्र प्रस्थान गर्ने प्रवेशद्वार हो । सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक र धार्मिक अध्ययन तथा अनुसन्धानका हिसाबले सिंजा उपत्यका र प्रकृतिको अनुपम उपहारका दृष्टिले रारा नेपालकै उत्तम गन्तव्य हुन् । शे–फोक्सुण्डो, त्रिपुरासुन्दरी मन्दिर उत्तिकै घुम्नलायक ठाउँ हुन् । कर्णालीको भाषा, साहित्य, संस्कृति, कला, पुरातत्व, धर्म र इतिहासका बारेमा शोधपत्र तयार गर्ने अनुसन्धानकर्ताका लागि सिंजा, दैलेख कोतगढी पञ्चदेवल बेलासपुर महावु क्षेत्र, सुर्खेत काँक्रेविहार, जुम्लाको कनकासुन्दरी, चन्दननाथ मन्दिर र तातोपानी गाउँपालिकाको ‘लक्षाल कृति पैकेलो’ (साहसिक योद्धा) महत्वबारे जान्न पर्यटक ती स्थलमा जानैपर्छ ।

पूर्वाधारको अवस्था

दैलेखको कोतगढी पञ्चदेवल बेलासपुर महावु क्षेत्र, कालीकोटको पचाल झरना, जुम्लाको सिंजा, डुडुल चैत्य र मुगुको राराताल पुग्न धेरै पर्यटक कर्णाली राजमार्ग भएर जान्छन् । हुम्ला जाने एक मात्र विकल्प हवाइजहाज हो । डोल्पा जाने सडक पूर्णरुपले बनिनसकेकाले यहाँका बहुसङ्ख्यक मानिसक हवाइजहाज नै प्रयोग गर्छन् । मुगु र जुम्लाको एकतिहाइ जनसङ्ख्याले हवाइजहाज नै प्रयोग गर्छ ।

हवाई यात्रा खर्चिलो भएकाले कर्णालीमा सबैस्तरका पर्यटकको आवागमन हुन सकेको छैन । यसको सहजताका लागि सरकारले पहिलो कर्णाली राजमार्गको स्तरवृद्धि गर्नुपर्नेमा उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जोड दिए ।

“सरकारले कर्णालीमा लगानी गर्ने वातावरण तयार गरी ठूला खालका होटल र उद्योगधन्दा सञ्चालन गर्नुपर्दछ”, अध्यक्ष शाहीले भने, “निजी क्षेत्रको सहकार्यमा पर्यटनका संरचना सरकारले तयार गर्न सके कर्णालीको पर्यटनले यहाँको विकास र समृद्धिमा सहयोग पुग्छ ।”

कालीकोटमा भने हवाई यातायात सेवा नभएकाले हिँड्नु या गाडी प्रयोग गर्नाको विकल्प छैन । कर्णाली भ्रमणमा आउने पर्यटकका लागि स्तरीय सडक, होटल र घरबास सुविधा नहुँदा समस्या हुने गरेको छ । नेपाल वायुसेवा निगमको जहाजले राजधानी सुर्खेतबाट कुनै पनि जिल्ला जोड्न सकेको छैन । निजी विमानहरुको आफूखुशी राज चल्ने गरेको नगारिकले गुनासो गर्दै आएका छन् ।

पर्यटकको रोजाई
कर्णालीमा सबैभन्दा बढी धार्मिक पर्यटक भारतबाट आउने गर्छन् । बहुदेवतावादी संस्कृतिले सम्पन्न कर्णालीमा मष्टो देवता मान्नेको बाहुल्य छ । बाह्र भाइ मष्टो भनेर पुज्ने संस्कृति विद्यमान रहेकाले अध्ययन अनुसन्धानका लागि देशीविदेशी पाहुनाको रोजाइमा संस्कृति पर्ने गरेको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले राससलाई जानकारी दिए ।

त्यस्तै मानसरोवर हुँदै कैलाश पर्वतमा पुग्ने भारतीय धार्मिक पर्यटक उल्लेख्य मात्रामा छन् । त्यसपछि तालतलैया र हिमाल हेर्ने पर्यटकहरुको रोजाइमा कर्णाली पर्छ । हिमाल आरोहणको अनुमति नभएकाले आरोही पर्यटक भनेर पाउन सकिएको छैन ।

यहाँ साहसिक खेल पर्यटनको पनि विकास हुन थालेको छ । कर्णालीमा जलयात्रा, प्याराग्लाइडिङ, अल्ट्रा म्याराथुन जस्ता खेल शुरु भएका छन् । विश्वका खेलाडी आकर्षण गर्ने उद्देश्यका साथ संसारकै उच्चस्थानमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकाको छुमचौरसँग जोडिएको लौठचौरमा निर्माण हुने कर्णाली हाइअल्टिच्यूड टे«निङ सेन्टर विभिन्न खेलको गन्तव्य बन्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय जुम्लाका प्रमुख बरमबहादुर महतले बताए ।

सिञ्जा संस्कृति र सभ्यताका क्षेत्रमा जापान, बेलायतर इटालीका नागरिकले शोधपत्र तयार गरेको कनकासुन्दरी गाउँपालिका लुड्कु गाउँ निवासी खस भाषासम्बन्धी जानकार तुङ्गनाथ उपाध्यायले राससलाई जानकारी दिए । उनले भने, “संस्कृतिविद् सत्यमोहन जोशीलगायतको टोलीले सिञ्जामा बसेर संस्कृतिसम्बन्धी अध्ययन ग¥यो ।” पछिल्लो समयमा अध्ययन, अनुसन्धान गर्ने स्वदेशी तथा विदेशी पर्यटक नगण्य मात्रामा रहेको उनको भनाइ थियो । उहाँका अनुसार भूगोल तथा प्रकृति दृश्यावलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

अब भने पर्यटनलाई आर्थिक विकासको मूल कार्यसूची बनाएर जाने उद्देश्यका साथ कर्णाली प्रदेश सरकारले विभिन्न सांस्कृतिक समूहसहित नागरिकदेखि सबै सरोकार पक्षको सहभागितामा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ गर्ने भएको छ । उक्त दिन प्रदेश सरकारले ‘विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली’ बनाउने दीर्घकालीन सोच सार्वजनिक गर्ने सचिव डा. आचार्यले जानकारी दिए ।