– महेश बस्नेत, सांसद, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


निर्वाचन क्षेत्र र जिल्लाका विकास निर्माणका काममा नै समय गइरहेको छ । तल्लो तहसम्म पार्टी एकता,  इञ्चार्ज भएका नाताले युवा संघको एकतामा पनि ध्यान गएको छ । अब संसद पनि चल्न थालेकोले त्यसको पनि तयारी भइरहेको छ ।

युवासंघमा खटपटका पनि कुरा आएका छन् । यसलाई कसरी हेरिरहनु भएको छ ?

दुई ठूला संगठनको एकता भनेको आफैमा एउटा जटिल कुरा हो । त्यसमा पनि संगठनमा नेतृत्व व्यवस्थापनको कुरा झनै जटिल हुन्छ । नरम र गरम मिलाउनु पर्ने भएको हुनाले केही समस्याहरु त आइहाल्छन् । फेरि एकता भनेको सुरुमै सबै मिलिहाल्दैन । पहिले टुप्पो मिलेपछि विस्तारै अन्य शरीर पनि मिल्दै जाने हो ।

युवासंघमा संयोजक र सहसंयोजकको जिम्मेवारी, भूमिका के के हो ? एकताको मर्म के थियो ?

हिजो नेकपा एमाले र माओवादीले प्राप्त गरेका मतका आधारमा र पछिल्लो समय वाइसीएलको भन्दापनि युवासंघको चर्चा बढी भएका हुनाले युवा संघले संयोजक र वाइसीएलले सहसंयोजक पाउनुपर्छ भन्ने मान्यता तत्कालीन युवासंघका अधिकांश साथीहरुको थियो । मेरो पनि त्यही मान्यता थियो । तर, पार्टीको एकता प्रक्रिया युवासंघलाई मात्रै हेरेर गर्ने कुरा हुँदैन । समग्र जनसंगठनलाई हेरेर नेताहरुले टुंग्याउँदा युवा संघबाट सहसंयोजक हुने स्थिति बन्यो ।

त्यसपछि दीपशीखाजी संयोजक बन्नुभयो र रमेश पौडेल सहसंयोजक बन्नुभयो ।

दुईवटा संगठन एक भइसकेपछि संयोजकले संयोजककै र सहसंसयोजकले सहसंयोजककै भूमिका खेल्नुपर्छ । यसमा नेताको अनुहार हेरेर धारणा बनाउनु हुँदैन ।

त्यसकारण एकताका मूलभूत कुराहरु नीतिगत ढंगबाटै टुंगाउनुपर्छ भन्ने म उहाँहरुलाई सुझाव दिन्छु । व्यक्तित्वको लडाईं नगरी संगठनमा सबैको व्यवस्थापन गर्नुपर्छ ।

फेरी प्रसंग तपाईकै । पछिल्लो मन्त्रीपरिषद् हेरफेरमा तपाईं पनि मन्त्री भन्ने चर्चा थियो । तर, क्याबिनेटको यात्रा अहिलेलाई रोकिँदा मन्त्री बनिसकेपनि यो यो गर्छु भनेर बनाएका योजनाहरु पनि थाँती नै रहे हैन त ?

राजनीतिमा उतारचढाव त भइ नै हाल्छन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्षको सल्लाहमा मलाई अलि परिणाम देखिने मन्त्रालयको जिम्मेवारी दिनुपर्छ भन्ने कुराकानी भएर एक किसिमको समझदारी पनि भएको थियो भन्ने मलाई पनि सूचना आएको हो ।

तर, ठूलो पार्टीमा धेरै साथीहरु व्यवस्थापन गर्नुपर्ने भएकाले र म फिल्डमा पनि खटेको र संसदमा पनि भूमिका निभाउँदै आएको हुनाले हाललाई त्यो जिम्मेवारी मलाई प्राप्त भएन । तर, सांसद र पार्टी नेताका हिसाबले आफ्नो जिम्मेवारी त मैँले निभाएकै छु ।

तर पनि, दुई तिहाई सरकारको मन्त्री बन्ने इच्छाशक्ति त बाँकी छ होला नि हैन ?

इच्छाशक्ति भन्दा पनि,

यात्रामा उडेको एउटा पन्छीका लागि जति धेरै पखेटा फिँजाउन पायो त्यती धेरै गतीमा जान्छ । अहिलेको भन्दा मन्त्रीपरिषद्मा जाँदा अझ धेरै पखेटा फिँजाएर काम गर्न सकिन्थ्यो भन्ने धाको र त भइनै हाल्छ !

त्यती हुँदाहुँदै पनि हामी जुन ठाउँमा छौँ, त्यो ठाउँमा राम्रै काम देखाउन सक्छौँ भन्ने आत्मविश्वास छ ।

सरकारको गतिलाई यहाँले कसरी मूल्यांकन गर्नुहुन्छ ?

सरकारको गति विगतका अन्य सरकारको तुलनामा र यही सरकारको पनि प्रारम्भिक चरणको तुलनामा परिस्थिति धेरै सुध्रिएको छ ।

विश्वबैँकको डाटा अनुसार जुन किसिमले हामी आर्थिक वृद्धिदर हासिल गर्दैछौँ, त्यो दक्षिण एशियामै उच्चमध्येमा एक हो । भिजिट नेपाल २०२० मनाइरहँदा फोर्ब्सपत्रिकाले घुम्नैपर्ने संसारका गन्तव्यमा नेपाललाई एक नम्बरमा राख्यो । अर्को विगतका हाम्रा तथ्यांकले पनि यो सरकारले धेरै बिषयहरुलाई सच्याउँदैछ ।

जस्तो, आयात निर्यातमा एउटा ‘ग्याप’ थियो, व्यापार घाटा १० अर्ब थियो । त्यसलाई सन्तुलन गर्दै आयात घटेको र निर्यात बढेको जुन स्थिति देखिँदैछ, त्यो राम्रो संकेत हो । त्यस्तै जसरी विदेश जाने युवाहरुको संख्या घट्दो र रेमिटेन्स बढिरहेको छ, यसले पनि राम्रै सूचकांक देखाएको छ ।

यस्तै राष्ट्रिय गौरबका आयोजनाहरु हिजो लथालिंग थिए, त्यसलाई व्यवस्थित गर्ने काम भएको छ । स्वयम् प्रधानमन्त्रीले सूचना प्रविधिको माध्यमबाट नै ‘मोनिटरिङ’ गरिरहनु भएको छ । यस्तै भारत चीनसंग पनि सम्बन्ध सुमधुर बन्दैछ । बंगलादेशले नेपालको बिजुली किन्ने सम्झौता गरेको छ । हिजो लोडसेडिङ भएको मुलुक अब विद्युत बेच्ने अवस्थामा पुगेका छौँ । युवालाई उद्यमशीलतातर्फ डोर्याउन तथा र लगानी भित्र्याउन योजना बनेका छन् । यसरी समग्रतामा हेर्दा हामी निराश हुनुपर्ने अवस्था छैन । तर, अझै पनि
जनता र प्रधानमन्त्रीको चाहना अनुसार गति बढेको छैन ।

भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउने तपाईको महत्वकांक्षा कहिले पुरा हुँदैछ त ?

राज्यका तीनै तहको उचित सम्मान गरेर समग्र भक्तपुरको ठूला गुरु योजना देखि जनताका आधारभूत आवश्यकता सम्ममा हामीले ध्यान दिएका छौँ । सिंहदरबारबाट १३ किलोमिटर मात्रै टाढा रहेको भक्तपुरले हिजो यो कुरा पाएको थिएन ।

भक्तपुर बल्ल  नगरपालिका भएको जिल्लाजस्तो देखिन थालेको छ । चौडा सडक बन्न थालेका छन्, विद्यालय बन्दैछन् । रंगशाला, अस्पताल, जनताका रोजगारसंग सम्बन्धित उद्योग धन्दा बल्ल खुल्न थालेका छन् । ‘स्मार्टसिटी’ का परिकल्पनाहरु आउन थालेका छन् । यसरी भक्तपुरलाई एउटा विकसित र उदाहरणीय जिल्लाका रुपमा विकसित गर्न सकिन्छ भन्ने हाम्रो योजना हो ।

हिजो भक्तपुरमा अरनिको राजमार्ग मात्रै थियो । अब मनोहरा, हनुमन्ते करिडोरलाई वैकल्पिक मार्गको रुपमा तीव्र गतिमा बनाइरहेका छौँ । दुई तीन वर्षमा हामी प्रत्येक वडामा दुई लेनको बाटो पुगेको जिल्लाका रुपमा चिनिने गरी काम गरिरहेका छौँ । गएको दुई तीन वर्षमा भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण गरेका छौँ । झण्डै ७० वटा विद्यालयको पुनर्निर्माण गरेका छौँ । जनताका निजी आवासको पुनर्निर्माण पनि तुलनात्मक रुपमा अन्य जिल्लाको भन्दा निकै राम्रो छ । सम्पदा वस्तीहरुलाई संरक्षण गर्ने कुरा पनि अगाडि बढाएका छौँ । पर्यटकीय क्षेत्रहरु नगरकोट, साँघा, घ्याम्पे डाँडा होस् वा डोलेश्वरलाई प्रवर्द्धन र विकास गरिरहेका छौँ । यस्तै खानेपानी लगायतका समस्याहरुमा पनि हामीले योजना बनाएका छौँ । यसरी हेर्दा भक्तपुरमा व्यापक रुपमा विकासका कामहरुको अभियान सुरु भएको छ ।

जाँदा जाँदै, तपाईंको सक्रियताको कुरा गरौँ । कुन धपेडीका साथ चल्छ दैनिकी ?

सामान्यतया म बिहान सात बजेदेखि नै सामाजिक र राजनीतिक काममा सक्रिय हुन्छु । त्यो भन्दा अगाडि आफ्ना निजी कामहरु (व्यायाम, मर्निङ वाक) गर्छु ।  हिउँदमा बेलुका ९ बजेसम्म र गर्मी महीनामा १०–११ बजेसम्म पनि भेटघाट, बैठक र कामहरुमा घर बाहिर नै हुन्छु । यतिबेला तपाईहरुसंग कुरा गर्दा पनि रातको झण्डै १० बज्न लाग्यो ! जे होस् दिनको १४–१५ घण्टा म खट्छु ।

प्रतिकृया

प्रतिकृया