काठमाडौं – काठमाडौँ उपत्यकामा चार वर्ष पहिले विस्तार शुरु भएका सडकमध्ये त्रिपुरेश्वर–नागढुङ्गा सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सडकमा आवश्यक पूर्वाधार निर्माण र एक तहको कालोपत्र सकिएकाले अहिले अर्को तहको कालोपत्र भइरहेको छ ।


ADVERTISEMENT


बाइस मिटर चौडाइ कायम गर्ने गरी सडक निर्माणका लागि ठेक्का सम्झौता भए पनि सडकसँगैका घरधनीले घर भत्काउन र जग्गा छाड्न नमान्दा सडक निर्माणको काम लामो समयसम्म ठप्प थियो । गत वर्ष मन्त्रिपरिषद्को बैठकले ‘उपलब्ध चौडाइमा सडक निर्माण गर्ने’ भनी निर्णय गरेसँगै सडक निर्माण अघि बढेको सडक विभाग, काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । गत कात्तिक मसान्तसम्म सडकको भौतिक प्रगति ९० प्रतिशत रहेको थियो । बाँकी काम छिट्टै सम्पन्न हुने आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनले भने, ‘सडक निर्माण सम्पन्न हुने क्रममा छ, बाँकी काम गर्न कुनै पनि अवरोध छैन ।’


ADVERTISEMENT

# # #


त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको यो सडकको अधिकार क्षेत्र (राइट अफ वे) अनुसार २२ मिटर कायम गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर सबै क्षेत्रफलमा त्यो चौडाइ कायम हुन सकेको छैन । थानकोट बजार, कालीमाटी, सोल्टीमोड, सतुङ्गललगायत स्थानमा मापदण्डभन्दा कम चौडाइमा सडक निर्माण भइरहेको छ । यीबाहेक पहिले नै चौडाइ पर्याप्त (२२ मिटर) भएका वा सार्वजनिक जग्गा भएका ठाउँमा मापदण्डअनुसार चौडाइ कायम भएको उनले बताए । झण्डै ६५ प्रतिशत तोकिएको चौडाइ कायम भए पनि बाँकी सडक त्योभन्दा कम चौडाइमा कालोपत्र भएको इञ्जिनीयर श्रेष्ठले बताए । कुनैकुनै ठाउँमा १०/११ मिटर चौडाइमा कालोपत्र भइरहेको छ । उनले भने, ‘कति सडकमा डिजाइनअनुसारको काम भयो भन्ने विस्तृत विवरण हामीले काम सम्पन्न भएपछि नै निर्माण व्यवसायीबाट पाउनेछौँ ।’

सरकारले विस्तारका क्रममा रहेका सडकमध्ये चाबहिल–साँखु र त्रिपुरेश्वर–नागढुङ्गामा निर्माण अघि बढाउन सहज बनाउने गरी निर्णय गरेको थियो । चाबहिल–साँखु सडकभन्दा यस सडकमा प्रगति बढी रहेको छ । यो सडकमा विस्तार गर्नुभन्दा पहिले नै चौडाइ उपत्यकाका अन्य सडकमा भन्दा बढी भएकाले यहाँ कम समस्या आएको श्रेष्ठको भनाइ छ । ‘कलङ्कीबाट नागढुङगा राजमार्ग भएकाले फराकिलो थियो’ उनले भने, ‘अरु स्थानमा पनि कम्तीमा आठ÷नौ मिटरसम्म चौडाइ थियो ।’

आयोजनाले विसं। २०७२ मा काठमाडौँ उपत्यकाका नौ सडक विस्तार शुरु गरेको थियो । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले चिह्न लगाएसँगै आयोजनाले सडक निर्माणका लागि ठेक्का सम्झौता गरे पनि सडक खाली हुन नसक्दा लामो समयसम्म निर्माण ठप्प थियो । सडक क्षेत्रमा परेका घर भत्काउन प्रक्रिया अघि बढाउँदा स्थानीयवासीले विरोध गरेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध भएको थियो । अहिले गतिमा काम भइरहेकाले सम्पन्न हुन लामो समय नलाग्ने आयोजनाले जनाएको छ ।

कतिपय साँघुरा सडकमा काम गर्दा वर्षाको पानी जाने पाइप ९स्ट्रङ वाटर ड्रेन सिस्टम० जडान गर्न गाह्रो भएको इञ्जिनीयर श्रेष्ठले बताए । कालीमाटीदेखि सोल्टीमोडसम्मको सडकमा ढल हाल्न समस्या भएको छ । उनले भने, ‘चौडाइ पर्याप्त भएका सडकमा जसरी फुटपाथ, पाइपलगायतका संरचना बनाउन सकिन्छ, साँघुरा सडकमा सकिँदैन ।’

काठमाडौँ उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको हो । त्यससँगै सडकमा रहेका रुख, बिजुलीको खम्बालगायत संरचना हटाउन सम्बन्धित कार्यालयहरुलाई पटकपटक ताकेता गर्नुपरेको उनको भनाइ छ । विद्युत्, खानेपानी, वन कार्यालयलगायतले सडकमा रहेका संरचना हटाउन पर्याप्त सहयोग नगरेको आयोजनाले बताउँदै आएको छ ।

त्रिपुरेश्वरबाट कलङ्की हुँदै नागढुङ्गासम्मको सडक निर्माणको जिम्मेवारी तीन निर्माण कम्पनीलाई दिइएको थियो । सबै कम्पनीले काम गरिरहेको क्षेत्रफलमा भौतिक प्रगति ९०÷९० प्रतिशत छ । विसं २०७२ असारमा दुई र असोजमा एउटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मेवारी दिइएको हो । तीमध्ये दुईवटा कम्पनीको अवधि गत असारमा सकिएको छ भने एउटा कम्पनीको पुसमा सकिँदैछ । बज्रगुरु बिरुवा सिएम जेभी, शर्मा शैलुङ कान्छाराम जेभी र लुम्बिनी शैलुङ साप जेभीले सडक निर्माण गरिरहेका छन् ।

आयोजनाले काठमाडौँमा तीन, ललितपुरमा पाँच र भक्तपुरमा एउटा सडक र दुई पुलको निर्माण शुरु गरेको थियो । तीमध्ये कतिपयमा निर्माण सुस्त छन् भने कति त ठप्प नै छन् । ललितपुरका पाँच सडकमध्ये चार सडकको काम सुस्त छ भने ढोलाहिटि–सरस्वतीकुण्ड सडकमा यथास्थितिमा कालोपत्र भइरहेको छ । रासस