काठमाडौं – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल महिला भलिबलले पहिलो खेलमै जित हात पारेको छ । सागको औपचारिक उद्घाटनको चार दिन अगाडि नै सुरु भएको खेलमा नेपालले बुधबार बंगलादेश भलिबललाई पराजित गरेको हो ।


ADVERTISEMENT


सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको महिला भलिबल टोलीले समूह चरणको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध ३–० को सोझो सेटमा जित हात हात पारेको हो । नेपालले पहिलो सेटदेखि नै सन्तुलित प्रदर्शन गर्यो ।


ADVERTISEMENT

# # #


पहिलो सेटमा २५–९ ले जित हात पारेको नेपालले लगातार तीनै सेटमा जित हात पार्यो । दोस्रो सेटमा बङ्गलादेश २५–९ ले पराजित भयो । तेस्रो सेटको सुरुवातमा वापसी गरेको बङ्गलादेशले अन्त्यतिर कमजोर प्रदर्शन गर्दा तेस्रो सेट पनि गुमाउन पुग्यो । कुनै समय ६–७ ले अगाडि रहेको बङ्गलादेशलाई उछिन्दै नेपालले तेस्रो सेट २५–११ ले जित हात पार्यो ।

महिला भलिबलमा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा भारत र बङ्गलादेश छन् । प्रतियोगिता अन्तगर्त आजै माल्दिभ्स र पाकिस्तानबीच स्पर्धा हुनेछ । बिहिबार भारत र नेपाल तथा श्रीलङ्का र पाकिस्तानबीच स्पर्धा हुनेछ ।

औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको हो ।

सागमा महिला भलिबल

सागमा महिला भलिबको इतिहास खासै लामो छैन । तीन पटक सहभागिता जनाएको महिला भलिबल टोलीले रित्तो हात फर्कनु परेको छैन ।

महिला भलिबल टोलीले सन् १९८७ मा औपचारिक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको थियो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ सागदेखि महिला भलिबलले सहभागिता जनाउन थालेको हो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।

सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौँ सागमा महिला भलिबल टोलीले दोस्रो पटक सहभागिता जनायो । त्यतिबेला पनि नेपालले कास्यपदक नै पायो । त्यसपछि नेपालले सन् २०१४ मा भारतमा भएको १२ औं सागमा तेस्रो पटक सहभागिता जनायो । १२औँ सागमा नेपालले कास्य पदक नै प्राप्त गरेको थियो । तर गत कात्तिक महिनामा बङ्गलादेशमा भएको प्रथम एभिसी सेन्ट्रल जोनमा पहिलो पटक ऐतिहासिक सफलता हासिल हासिल ग¥यो ।

नेपाली महिला टोलीले ‘सेन्ट्रल जोन’मा माल्दिभ्सलाई ३–० को सोभो सेटमा पराजित गर्दै भलिबलको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भयो । दक्षिण एशियामै सधैँ तेस्रो बन्ने महिला भलिबल टोलीलाई यसपटकको सागमा नयाँ इतिहास कायम गर्ने मौका छ । यसपटकको सागमा पहिलेको भन्दा राम्रो पदर्शन गर्ने धेरैले अपेक्षासमेत गरेका छन् ।

नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा पाएको सफलताले पनि खेलाडीमा आत्मबल बढेको भन्दै प्रतियोगितामा उत्कृष्ट नजिता ल्याउने विश्वास व्यक्त गरे । घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो योजना छ,’ प्रशिक्षक भट्टले भने । नेपालको मुख्य चुनौती भनेको भारत र श्रीलङ्का हो ।

यता राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आफ्नो टोलीको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताइन् । नेपाली महिला भलिबल टोलीमा कप्तान अरुणा शाहीसहित जानकी भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन र पुनम चन्द रहेका छन् ।

पुरुष भलिबल पनि आजै

त्यसैगरी आजै हुने पुरुष भलिबलतर्फको अर्को खेलमा पनि नेपालले बङ्गादेशसँगै खेल्नेछ । खेल साँझ ७ बजेपछि शुरु हुनेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् ।

त्यस्तै समूह ‘बी’ मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।