चितवन– नेकपा (एमाले)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार देवीप्रसाद ज्ञवालीले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएपछि सर्वोच्च अदालत जाँदा भएको ढिलाइका कारण पराजय भोग्नु परेको बताएका छन् ।


ADVERTISEMENT


एमाले चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सर्वोच्च अदालतले मुद्दाको फैसला गर्न समय लगाएका कारण विपक्षीहरुले खेल्ने मौका पाएर पराजय भोग्नु परेको बताए।


ADVERTISEMENT

# # #


मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानका लागि निर्णय गरेको थियो । सो निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । पहिलोचरणको निर्वाचन वैशाख ३१ गते भएकोमा जेठ १४ गते राति मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो । त्यसको एक सातापछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

जेठ २१ गते सर्वोच्चमा मुद्दा परेकोमा साउन १५ गते सर्वोच्चले फैसला सुनाएको थियो । यो अवधिमा राज्य सत्ताको चरम दुरुपयोग भएको बताउँदै ज्ञवालीले भने “यो अवधिमा सत्ताको आडमा विकासका नाममा करोडौँं रुपैयाँ रकमान्तर गरियो र झुट्टा विकासे आश्वासन जनतालाई दिइयो ।” तत्काल पुनःनिर्वाचन भएको भए परिणाम भिन्न आउने उनले बताए । आफूलाई हराउनकै लागि मुद्दाको फैसलामा ढिलाइ गरिएको उनको आरोप थियो ।

पत्रकार सम्मेलनमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले पुनःनिर्वाचनको समयमा सत्ताको आडमा नक्कली अनुमतिपत्र बनाएर सवारी साधन प्रयोग गरिएको बताए ।

उनले एमाले भरतपुर महानगरमा १४७ पदमध्ये ७० पदमा विजयी भई पहिलो पार्टी भएको भन्दै नेकपा एमाले जनताप्रति प्रतिबद्ध र जिम्मेवार पार्टी भएकाले यसका प्रतिनिधि भरतपुर महानगरको विकासमा सक्रिय भएर लाग्ने बताए ।

एमालेबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले आजै शपथ ग्रहण गर्ने पनि उनले जानकारी दिए । रासस