काठमाडौँ– अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए।
बजेट अनुशासन उल्लंघन हुँदा सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा रहेको उनले बताए । उनले भने, ‘उत्पादनमुखी भन्दा वितरणमुखी कार्यक्रम र योजनातर्जुमा होडबाजी देखिएको छ ।’
उनले सही विश्लेषणबाट मात्र अगाडिको मार्ग तय गर्न सकिने उल्लेख गर्दै अहिले अनौपचारिक अर्थतन्त्र मौलाएकाले राजश्वको दायरा खुम्चिएको बताए।
‘आयातमा आधारित राजश्व र विप्रेषणमा आधारित उपभोगको चक्रमा अर्थतन्त्र रूमल्लिएको छ,’ अर्थमन्त्री खतिवडाले भने।