काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सङ्गठन सुदृढीकरणका लागि ‘विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियान’ सुरु गरेको छ । यही जेठ २५ गतेदेखि सुरु भएको सो अभियान आगामी भदौ २५ गतेसम्म चल्नेछ ।


ADVERTISEMENT


आधारभूत तहभन्दा माथिका सबै शिक्षण संस्थामा सङ्गठन निर्माण र सदस्यता वितरण गर्ने अभियानको उद्देश्य रहेको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख मदन ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अभियानका क्रममा एक एकाइ एक प्रशिक्षण, जनपरिचालन, प्रत्येक सदस्य सङ्गठित सदस्य र हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालयलगायत कार्यक्रम सञ्चालन गरिनेछ । अभियान अवधिभर नयाँ सदस्यता र नवीकरणसहित पाँच लाख सदस्यता वितरण गर्ने उद्देश्य रहेको उपाध्यक्ष ढकालले जानकारी दिए ।

सात भूगोल, उपत्यका र विश्वविद्यालय गरी नौ प्रदेशमा अभियान सञ्चालन गर्न नौ उपाध्यक्षलाई इन्चार्जको जिम्मेवारी दिइएको क्रान्तिकारीले जनाएको छ । जसअनुसार कोशीमा अभिमन्यू यादव, मधेसमा ममता अधिकारी, बागमतीमा मदन ढकाल, गण्डकीमा कृष्ण सुनार, लुम्बिनीमा विराज थापा, कर्णालीमा अटल आचार्य र सुदूरपश्चिममा उमेश कँडेल तथा उपत्यका विशेष प्रदेशमा दीपा जैशी र विश्वविद्यालय प्रदेशमा सन्दिप पुनलाई ‘कमाण्डर’ तोकिएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय समितिको पहिलो पूर्ण बैठकले तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।