भक्तपुर – बागमती प्रदेश सरकार अन्तरगत रहेको भक्तपुर स्थित भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बनेको छ ।
न्युनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा भक्तपुर अस्पताल देशकै उत्कृष्ट बी लेभल अस्पताल घोषित भएको हो ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्धारा गत जेठ १३ र १४ गते बिज्ञहरु सहित गरिएको एमएसएस मूल्याङ्कन आईतबार बागमती प्रदेश सरकारका स्वास्थ्य मान्त्री किरण थापाको प्रमुख आतिथ्यता र प्रदेश स्वास्थ्य सचिव डा।सुमित्रा गौतमको बिशेष आतिथ्यतामा सार्वजनिक गरिएको छ ।
सेकेण्डरी ए लेभल बाट सेकेण्डरी बी लेभलमा अपग्रेड भई पहिलो पटक गरिएको मुल्यान्कनमा ९० प्रतिशत प्राप्त गरी भक्तपुर अस्पतालले देशभरीमै उच्च अंक प्राप्त गर्न सफल भएको छ ।
यस अघि अघिल्लो वर्ष सेकेण्डरी ए लेभल को मूल्याङ्कनमा पनि देशभरैमै भक्तपुर अस्पताल उत्कृष्ट भएको थियो । अत्याधुनिक उपकरण, उत्कृष्ट चिकित्सक, अब्बल नर्स तथा स्वास्थकर्मी कर्मचारीहरू, मानवीय सेवाभाव, आधुनिक र प्रभावकारी उपचार पद्धति, प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको प्राथमिकता र अस्पताल प्रशासनको क्षमतापूर्ण व्यवस्थापनले खेलेको सामुहिक मेहनत र अनवरत लगनशीलताका कारण भक्तपुर अस्पतालले देशकै स्वास्थ्य सेवामा नमूना उदाहरण प्रस्तुत गरिरहेको भन्दै सर्वत्र प्रशंसा बटुलिरहेको छ