काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुनुवाइ जारी रहेको छ। यस सुनुवाइमा लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिट पनि समेटिएको छ।
बिहीबार रवि लामिछाने र छविलाल जोशीका तर्फका अधिवक्ताहरूले बहस गरिसकेका छन्, र सरकारी वकिलको तर्फबाट पनि बहस समाप्त भएको छ। आज जाहेरवालाको तर्फबाट बहस हुने र त्यसपछि जवाफी बहस हुने अपेक्षा गरिएको छ।
लामिछाने र जोशीलाई सहकारी ठगी प्रकरणमा थुनामा राखिएको छ । उनीहरू भैरहवा स्थित कारागार कार्यालयमा पुर्पक्षका लागि थुनामा छन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो, तर उच्च अदालत बुटवलले त्यस आदेशलाई उल्टाउँदै उनीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो।
यसैबारे लामिछानेले सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए। यी दुवै रिटको सुनुवाइ एकसाथ भइरहेको छ।