काठमाडौँ– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले देशको समृद्धि, सामाजिक न्याय, असमानता अन्त्य गर्ने दस्ताबेजका रुपमा बजेटलाई प्रस्तुत गर्नुपर्ने सुझाव दिएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदै शर्माले आम्दानी र खर्चको फाँटबारी मात्रै नभएर देशको समृद्धि, सामाजिक न्याय, असमानता अन्त्य गर्ने दस्ताबेजका रुपमा बजेटलाई प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले चालु खर्च घटाउँदै संरचनात्मक सुधारमा ध्यान दिनुपर्ने, चालु खर्चलाई ३५ प्रतिशतमा झार्नुपर्ने लगाएतका सुझाव दिए ।

सांसद शर्माले विनियोजित बजेटबाट परिणाम हासिल गर्न संरचनागत सुधार बाधक बनिरहेको भन्दै संरचनागत सुधारमा सरकार कठोर ढङ्गबाट प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

त्यस्तै एमाले सांसद पदम गिरिले वर्तमान अवस्थाबाट मुलुकलाई गतिशील बनाउन सरकार गम्भीर देखिएको भन्दै अर्थतन्त्रको अवस्थालाई माथि उठाउने गरि बजेट ल्याउनुपर्ने बताए । उनले ८० को दशक तीव्र आर्थिक विकासको दशक बन्नुपर्ने उल्लेख गरे ।

सबैतिर बजेट छर्ने गरेकाले पुँजीगत खर्च न्यून हुने अवस्था सिर्जना भएकाले यसतर्फ विशेष ध्यान दिन उनले सुझाए ।

त्यस्तै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सरकारले प्राथमिकता राख्न नसकेको बताए । उनले मुलुकको कुल ग्राहस्थ उत्पादन र ऋणबिच समेत सन्तुलन कायम गर्न समेत सरकार असफल भएको धारणा राखे ।

त्यस्तै अन्य सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा आएका सुझावहरुलाई समेटेर बजेट निर्माण गर्न सुझाव दिएका थिए । साथै उनीहरुले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै सन्तुलित र सकारात्मक विकासमा ध्यान दिन समेत सुझाव दिएका छन् ।